वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

विभाजित माओवादीको एकता प्रयास : साच्चै होला त ?

विभाजित माओवादीको एकता प्रयास : साच्चै होला त ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार काभ्रेको पाँचखाल पुगेर भने– ‘विभाजित सबै माओवादीसँग एकताको कुराकानी भइरहेको छ ।’

मूल माओवादी आफू नै भएको बताएका प्रचण्डले माओवादीबाट बाहिरिएका सबैसँग एकताका लागि पहल भइरहेको खुलासा गरे । उनले भने ‘माओवादी पुनर्गठित हुँदैछ । जनताका हक तथा अधिकार स्थापित गर्नका लागि सडकमा लड्न पाए खुसी हुन्छौं । हामी विभेदमा परेका मानिसका प्रवक्ता पनि हौं ।’

माओवादी घटक सबैले विभाजनबाट राम्रो ज्ञानप्राप्त गरेकाले मिल्ने पक्का भएको दाबी प्रचण्डले गरेका छन् । भाषणमा मात्रै होईन माओवादी धाराका विभिन्न तहका नेताहरु सामूहिक तथा द्धिपक्षीय भेटघाटमा पनि उत्तिकै सक्रिय छन् ।

जसको सवैभन्दा पछिल्लो उदाहरण हो अघिल्लो साता नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरवारमा अध्यक्ष प्रचण्ड र जनता समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको गोप्य भेट ।

अध्यक्ष प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै तत्कालीन माओवादीका उपाध्यक्षसमेत रहेका मोहन वैद्यले २ असार ०६९ मा पार्टी विभाजन गरेका थिए । उनीसँग दोस्रो पुस्ताका आशलाग्दा थुप्रै नेताहरुले पनि साथ दिएका थिए । वैद्यको साथ लागेका र विभाजनका एक प्रमुख पात्र रामबहादुर थापा अहिले घुम्दैघुम्दै एमालेमा पुगेका छन् । भने अर्का दोस्रो पुस्ता नेता नेत्रविक्रम चन्द विप्लव छुट्टै पार्टी गठन गरेर कहिले भूमिगत त कहिले खुल्ला राजनीतिमा उठबस गरिसकेका छन् ।

क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने योजनाका साथ छुट्टाछुट्टै पार्टी नै गठन गरेर अघि बढे । वैद्य नेतृत्वको पार्टी भने निर्वाचनमा भाग लिएका दलहरूसँग मोर्चा पनि बनाएर आफू पनि सामेल भइरहेको छ । विप्लव नेतृत्वको पार्टी भने चुनाव बहिस्कार गर्दै आएको छ ।

तर प्रचण्डले भने आफंैले लडेर ल्याएको गणतन्त्रका उपलब्धीको रक्षा गर्ने भन्दै समाजवादी राज्यव्यवस्था स्थापना गर्ने कार्यनीतिसहित अघि बढिरहेका छन् ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेलामा प्रतिवन्धमा लगाएका विप्लवले भने तिनै ओलीसँग तीन बुँदे सम्झौता गरेर खुल्ला राजनीतिमा आएका छन् । राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भन्दै आएका छन् । तर उनको सबैभन्दा विवादित माग जनमतसंग्रह रहेको छ । उनले चुनाव नै गर्ने भए एकपटक ‘पुँजीवाद कि समाजवाद’ भन्ने विषयमा जनमतसंग्रह गर्न माग राख्दै सार्वजनिक वक्तव्य दिँदै आएका छन् । माओवादी जनयुद्ध लडेर देशमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसी/समानुपातिक राज्यव्यवस्था ल्याएको थियो । तर अहिले त्यहिँ जनयुद्ध लड्ने माओवादी विभाजति भएको ९ वर्ष भएको छ । विवाजित भएका केही माओवादीहरु भने पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

अहिले पनि माओवादी आन्दोलनको एउटा हिस्सा वैद्य र विप्लव नेतृत्वको पार्टीसँगै रहेको छ । उनीहरु न त संसदीय राजनीतिमा प्रत्यक्षरुपमा सहभागीता जनाउन सके न त कुनै ठोस क्रान्तिकारी कार्यदिशा लागू गर्न सकेका छन । जसका कारण संसदमा भएको माओवादी पनि पार्टी विभाजनका कारण पहिलो दलबाट एकैपटक तेस्रो दलमा पुगेर खुम्चिनु परेको छ ।

माओवादीका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराई पार्टी छाढेर जसपामा गएता पनि माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादलाई स्वीकार गरेका छन् भने उनले पार्टी एकता गर्नका लागि पार्टीको नाममा कम्युनिस्ट शब्द हटाएर समाजवाद राख्नुपर्ने बताउँदै आएका छन् । त्यहि भएर अहिले पनि प्रचण्ड भट्टराईबीच पनि एकताको पहल भइरहेको बताइन्छ ।

सबै रक्षात्मक अवस्थामा रहेका माओवादीहरुबीच एकता गरेर पुन: ०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पाएको एकल बहुमतको अवस्थामा पार्टी हैसियत पुर्‍याउने प्रचण्डको चाहना देखिन्छ । यही रणनीति सफल बनाउनका लागि उनी विभिन्न माओवादी घटक तथा अन्य नेताहरुसँग भेटघाट र छलफल गरिरहेका छन् ।

प्रचण्डले यही भित्री योजना काभ्रेको पाँचखालमा आयोजित वाइसीएलको कार्यक्रममार्फत खुलासा गरेका हुन् । माओवादीका विभिन्न घटहरु अहिले बाहिर बोल्न चाहँदैनन् तर आन्तरिक रुपमा एकताको प्रयासमा लागेका माओवादी केन्द्रकै एक स्थायी कमिटी सदस्यले बताए ।

‘सम्पूर्ण वामपन्थी शक्तिबीच एकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पहिलो शर्तमा माओवादी घटकहरुबीच कै एकतामा जोड दिनुपर्छ भन्ने छ । त्यसका लागि सबैले पहल गर्नु पर्छ । नेताहरुमा भएको इगो हट्यो भने एकता सम्भव छ ।’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङ भन्छन्,‘माओवादी घटहरुबीचको एकतामा नेताहरुबीच सहमति हुनुपर्छ । आम रुपमा पनि एकताको कुरा उठेको छ । वैचारिक कुरा पनि मार्क्सवाद, लेनिनवाद र माओवाद मान्ने कुरामा एकरुपता छ ।’

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि विभिन्न कम्युनिस्ट घटकसँग एकता गर्दै र मोर्चा बनाउँदै आएको छ । माओवादी केन्द्रसँग एकताको लागि कुनै आधिकारिक कुरा नभए पनि कम्युनिस्टहरु भित्रका क्रान्तिकारी धारसँग एकता गर्नमा कुनै विमति नरहेको वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य इन्द्रमोहन सिग्देलले बताए । उनले भने,‘एकता व्यवस्था विरोधी, क्रान्तिकारी र वैज्ञानिक समाजवाद स्वीकार्नेसँग मात्रै हुन्छ ।’

प्रचण्डले भने अनुसार आन्तरिक रुपमा सबै माओवादी घटकहरुबीच एकताको लागि वार्ता भेटघाट जारी रहेको स्रोतले बताए ।

पार्टी पहिलो पटक विभाजन हुँदा विप्लव वैद्यसँगै थिए । तर उनले पनि ०७० सालको मंसिरबाट वैद्यसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाए । अहिले उनको पार्टीबाट समूह समूहमा बाहिरिने क्रम जारी नै छ ।

उसो त माओवादीबाट विभाजन भएर अलगअलग राजनीति गर्दै आएको वैद्यको समूहबाट अलग भएर आएको रामबहादुर थापाको समूह, मणि थापाको पार्टी, मात्रिका यादवको पार्टीलगायतले ०७३ मा एकता गरेका थिए । यसरी एकता भएपछि पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राखिएको थियो ।

तर अहिले पनि माओवादीका नाममा मुद्दाहरु अदालतमा छन् । सत्य निरुपरण आयोग र वेपत्ता खोजविन आयोगले आफ्नो काम पुरा गर्न सकेको छैनन् ।

माओवादीका शहीद परिवार, घाइते, अपांगहरुको व्यवस्थापन हुन सकेको छैन । तर माओवादी पार्टी विभाजना भएर टुक्राटुक्रा बनेको छ । यसलाई एकता गर्ने प्रचण्डले पहल लिएको माओवादी केन्द्र निकट एक नेता बताउँछन् । तर सिग्देल भने प्रचण्डले माओवादीको सेन्टिमेन्ट क्यास गर्न खोजेको आरोप लगाउँछन् । तर क्रान्तिकारीबीच एकता हुनेमा उनी पनि सहमत देखिन्छन् ।

प्रचण्ड र अन्य माओवादी घटकहरुबीच वैचारिक राजनीतिक सहमति भएमा छिट्टै एकता हुने देखिन्छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय