वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

एमालेमा देवत्वकरण र ‘ओली बा’

एमालेमा देवत्वकरण र ‘ओली बा’

नेपाली राजनीतिमा असाध्यै शक्तिशाली बन्दै गएका व्यक्ति हुन्, खड्ग प्रसाद ओली । ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री हुन् । केपी ओलीका केही प्रशंसकले उनलाई बा भनेर सम्बोधन पनि गर्छन् । बा भन्ने अत्यन्तै आदरणीय शब्द हो । के साँच्चै ओली एमाले पार्टीमा बा हुने दर्जामा पुगेकै छन् त ?

लामो इतिहास बोकेको विशाल पार्टीका कार्यकर्ताले आफ्नो अध्यक्षलाई बाको उपमा दिनु बाहरूको अपमान गरेजस्तै लाग्छ । यसरी कुनै शब्दको आफ्नो वजनलाई जे मन लाग्यो त्यो अर्थ लगाउनु हुँदैन । एमाले भनेको ओली र उनका छोराछोरीको मात्र पार्टी पक्कै होइन । सम्पूर्ण कार्यकर्ताका बा बन्न ओलीले के त्यस्तो चामत्कारिक कार्य गरेका छन् ? बा बन्न त्यति सजिलो छैन । छोराछोरीसँग बाका सम्बन्ध धेरै जोडिएका छन् ।

ओली बा जिन्दावाद भन्दा एमाले अध्यक्ष ओलीप्रति व्यङ्ग्य र अपमान गरे जस्तो लाग्छ । यसै कारणले हुनसक्छ, केपी ओली पनि आफूलाई झन शक्तिशाली महशुस गरिरहेका छन् । बर्तमान परिदृश्य हेर्दा ओलीको क्रियाकलाप, यिनलाई गरिएको प्रशंसा र गुणगान अति चरम देखिएको छ । कुनै आस्तिक संस्कार र परम्परामा अदृश्य भगवानलाई जसरी मानिन्छ, त्यस्तै भगवानको एउटा अवतारको रुपमा चिनाउन खोजिँदैछ । कम्युनिष्ट पार्टीको अध्यक्षलाई भगवान नै मानेर जयजयकार गरिनु हास्यास्पद लाग्छ ।

एमालेले गोदावरीमा गरेको विधान महाधिवेशनले फेरि ओली पुन: शक्तिशाली बनाइएका छन् । गोदावरी विधान महाधिवेशनको उपलब्धि भनेको आफ्ना कार्यकर्ताको प्रदर्शन मात्रै देखियो । घुमीफिरी रुम्जाटार भने जस्तै ओलीलाई चोखो र झन् शक्तिशाली बनाइयो । प्रधानमन्त्री कार्यकालमा ओलीले जति पनि काम गरेका थिए, ती सबै जायज थिए भनेर राजनैतिक दस्तावेज पास गराउनु थियोे । त्यो पास भयो । ओलीको विरोधमा बोल्ने कसैको शाहस देखिएन । विधान अधिवेशन नै ओलीमय बनाइएको थियोे । यो पार्टीको निरंकुश र तानाशाही प्रवृति नै हो ।

यसरी पार्टी संगठनमा व्यक्ति विशेषलाई देवत्वकरण गरिनु राजनीतिमा उल्टो बाटो तय गरिनु हो । पार्टी बलियो नभई झन कमजोर हुन्छ । संंसारमा व्यक्ति पूजा गर्दा पार्टी र संगठन नै समाप्त भएका उदाहरण छन् ।

नेपाली राजनीतिमा ओलीको योगदान नभएको होइन, झापा क्रान्तिदेखि अहिलेसम्म आउँदा उनका उल्लेखनीय योगदान छन् । एमाले पार्टीलाई यो उचाईमा पुर्याउन उनले गरेको त्यागलाई इतिहासले बिर्सिदैन । ओलीमा तुलनात्मक रुपमा उच्च रास्ट्रवादी छवि पनि छ । उनका बिर्सन नसकिने दुई ऐतिहासिक काम भनेका भारतसित नाकाबन्दीको डटेर सामना गर्नु अनि चुच्चे नक्सा निकाल्नु नै देखिए । ओलीलाई देवता नै नबनाई उनका राम्रा काम यी हुन् भनेर जनतामाझ ल्याउन सकिन्छ, यही परिस्थितिमा नै पार्टीको अध्यक्षको रुपमा ओलीलाई जयजयकार गरिनु उपयुक्त होइन । यतिखेर ओलीले आफूले गरेको गल्तीलाई पनि सत्य र साँचो बनाउन हर उपाय गर्दै छन् । केही भजन मण्डली बनाएर केपी बाको जय भन्दै नाच्न गाउन लगाएका छन् ।

राजनीतिमा स्थायी शत्रु कोही हुँदैन भनी कुनैबेला आफ्नो दुष्मन मानिएको प्रचण्ड र माओवादी पार्टीलाई एक बनाएर एउटा जेटका दुई पाइलट पनि बने । पद, कुर्सी र राजनीति स्वार्थका लागि गरिएको एकता नजोडिँदै फुट्यो । ओलीको स्वेच्छाचारी र सत्ताको दम्भले गर्दा एमाले पनि टुक्रियो । फलत: एमालेमा लामो सङ्घर्ष गरेर विशाल एमाले बनाएका माधव कुमार नेपाल नै एमाले फुटाएर नेकपा(एकीकृत समाजवादी) बनाए ।

देशमा करिब दुई तिहाई नजिकको कम्युनिष्ट सरकार आउँदा ओलीले धेरै सपना मात्र बाँडे र आफ्नो पार्टी मिलाउन सकेनन् । जग बिनाको नेकपा बिचमा ढल्यो । ओलीले आफ्नो पार्टी मिलाउन सकेनन् र सत्ता र शक्तिको झोकमा आँफू अनुकूलको संविधान व्याख्या गरी दुई पटक संसद नै भङ्ग गरे । पुन: सर्वोच्चको परमादेशबाट अहिले शेर बहादुर देउवा प्रधानमन्त्री बनेका छन् । चाहना नहुँदा नहुँदै भाग्यले देउवा पाँचौ पटक प्रचण्ड, माकुने र उपेन्द्रको पूच्छर समात्दै प्रम बनेका छन् ।

नेतालाई पूजा गर्ने परिपाटीले मान्छे अहंकारी, दम्भी र स्वेच्छाचारी हुने र हिटलर नै बन्ने सम्भावना ज्यादा हुन्छ । हामी सबै मानवीकरण हुनुपर्छ । मान्छे राम्रो छ, राम्रो काम गर्छ भने उसको कार्यलाई प्रशंसा र सम्मान गर्नुपर्छ, नकि उसलाई भगवान नै बनाउनु पर्दैन ।

राजनीतिमा पार्टी फुट्नु र जुट्नु स्वाभाविक नै मान्नुपर्ला तर एउटा पार्टीको अन्तर कलहले देशलाई नै बन्धक पारियो । जनताको सर्वोच्च निकाय संसदलाई भङ्ग गर्नु ओलीको ठुलो गल्ती हो । प्रधानमन्त्री भनेको कुनै पार्टीको मात्र होइन, सबै नेपाली जनताको अभिभावक हो । सौताका रिसले पोइका काखमा …..भने जस्तै आफ्नो पार्टीलाई मिलाए राख्न नसकेर कानुनमा नै नभएको संसद नै भङ्ग गरिनु ओलीको स्वेच्छाचार र अहंकारको चरम रुप हो ।

आफ्नै कर्मले बालुवाटारबाट बार्दली पुगेका ओली सत्ताबाट बाहिरिनु परेको पीडा र रिसको आवेग शमन गर्न प्रचण्ड र माधवको दोहोलो काढ्न ठिक्क छ । प्रचण्ड र माधबका गल्ती होलान् तर त्यो मिलाउने दायित्व अध्यक्षका हैसियतले ओलीकै हुनुपर्दथ्यो । पार्टीको अन्तर कलह मिलाउन असक्षम बनी बेला न कुबेला आफ्नो खल्तीको कानुन प्रयोग गरी चुनाव घोषणा गर्नु ओलीको ऐतिहासिक गल्ती हो । जति भजन मण्डलीले जयजयकार गर्दै हिँडे पनि यसको प्रायश्चित हुन सक्दैन ।

आज एक छिन ओलीको देवत्वकरण गर्दा केहीलाई क्षणिक फाइदा होला । तर सिङ्गो पार्टी र प्रणालीलाई ठुलो घाटा हुन्छ । पार्टी प्रणालीमा व्यक्ति पूजा गर्नु कार्यकर्तालाई ठुलो असर पर्छ । पूजाको परिणाम भोग्दा भोग्दै पुन: ओलीको मुर्ति नै बनाई धुप, दीप बाल्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । एमाले ओलीको निजी सम्पत्ति त होइन उनी त केवल अध्यक्ष हुन् । अध्यक्षको जिम्मेवारी पाएको भन्दैमा देवता बनाई यसरी जयजयकार गर्दा पार्टीको अस्तित्व नै समाप्त हुन्छ ।

केपी ओलीलाई एमालेको अध्यक्षको रुपमा हरतहबाट सम्मान छ । कार्यकर्ता देखि जो कोहीले उनलाई अध्यक्षकै रुपमा सम्मान दिइयो भने सबैको कल्याण हुन्छ । पार्टीमा व्यक्ति होइन पार्टी र नीति स्थापित हुनुपर्छ । एमाले भनेकै ओली र ओली भनेकै एमाले बनाउनु उपयुक्त होइन । ओलीको गुणगान गाएर आशिर्वचन लिन खोज्दा पार्टी जिवन्त बन्न सक्दैन ।

नेपालमा देवत्वकरणका अरु पनि उदाहरण नभएका होइनन् । भीमसेन थापा,राजा त्रिभुवन, राजा महेन्द्र, वीपी कोइराला, गणेशमान, मदन भण्डारी, प्रचण्ड आदि । कसैलाई देवत्वकरण र दानवीकरण गरिनु स्थायी हुँदैन । देवत्वकरण र दानवीकरण दुवै समाजका घातक हुन् । यसले मानिसलाई आलोचनात्मक दृष्टिकोणबाट विमुख बनाइदिन्छ । आलोचनात्मक दृष्टिकोणको अभाव हुन्छ । जब पार्टीमा स्वच्छ आलोचना हुँदैन अनि पार्टी बलियो हुन सक्दैन ।

नेतालाई पूजा गर्ने परिपाटीले मान्छे अहंकारी, दम्भी र स्वेच्छाचारी हुने र हिटलर नै बन्ने सम्भावना ज्यादा हुन्छ । हामी सबै मानवीकरण हुनुपर्छ । मान्छे राम्रो छ, राम्रो काम गर्छ भने उसको कार्यलाई प्रशंसा र सम्मान गर्नुपर्छ, नकि उसलाई भगवान नै बनाउनु पर्दैन ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय