
एजेन्सी । स्पेनिस लिगमा अहिले पनि लियोनल मेसी र लुईस स्वारेजको गोल संख्या बराबरी छ । कुनै बेला एउटै क्लबबाट खेल्ने, अहिले फरक क्लबबाट खेलेपनि अत्यन्त मिलनसार र पारिवारिक सम्बन्ध छ मेसी र स्वारेजको । तर पनि उनीहरु अहिले एक आपसका प्रतिस्पर्धी भएका छन् ।
एथ्लेटिको मड्रिडका अहिलेका स्टार स्ट्राईकर उरुग्वेन लुईस स्वारेजले बार्सिलोनाले आफूलाई बुढो भयो भनेर बेचेकोमा दु:ख व्यक्त गरेका छन् । बुढो भयो अव उच्च स्तरको प्रदर्शन गर्न सक्दैन भनेर बार्सिलोनाले भनेको प्रति उनले पटक पटक गुनासो गर्ने गरेका थिए । त्यसको उत्तर अहिले आफूले खेलबाटै दिएको उनको भनाई छ ।
३४ वर्षीय स्वारेजले बार्सिलोना छोडेर पारिवारिक एडजस्ट हुन कठिन भएपनि त्यो चुनौती स्वीकार गरेर अघि बढेको बताए ।
फ्रान्स फुटबलसँगको कुराकानीमा स्वारेजले भनेका छन्, बुढो भयो, अब उच्च तहको खेल लामो समयसम्म खेल्न सक्दैन भनेर बार्सिलोनाले जे भन्यो त्यो नै मेरा लागि सवैभन्दा दुस्खको कुरा बन्यो । बार्सिलोनामा छंदा समेत आफूले मेसी भन्दा पछि उच्च स्तरको प्रदर्शन गरेको र हरेक सिजन कम्तीमा २० गोल गरेको उनले बताएका छन् ।
बार्सिलोनाबाट खेल्नु त्यति सजिलो नभएको स्वीकार गर्दै उनले भने, अहिले पनि कति खेलाडीहरु बार्सिलोनामा आवद्ध भएका छन्, त्यो तहको प्रदर्शन गर्न सकिरहेका छैनन् । तर मैले ६ वर्ष बार्सिलोनाबाट खेल्दा त्यस्तो अनुभव हुन कहिल्यै दिएको थिईन ।
बार्सिलोनाका लागि परिवर्तन आवश्यक भएको कुरामा आफूसमेत सहमत रहेको बताउदै उनले क्लबले जस्तो व्यवहार आफूलाई गर्यो त्यो भने दु:खद रहेको बताए ।