सन्दर्भ ११५औं देवकोटा जयन्तीः के नेपाल सानो छ ? [निबन्ध]
- नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ।
सुन्दर, शान्त विशाल! म भन्न सक्तिनँ।
भूमण्डलका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ। यो सानो बुँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ। यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ। कति देश र जातिले यसको नामै सुनेका होओइनन्। यो शान्तिको हरियो आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ। त्यसलाई एकान्त मन पर्दछ। संसारको घच्चाघमासानमा पसीना काढी हिस्सा लिनुभन्दा ध्यान र जानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ।
जिज्ञासा राखे तापनि यो प्राचीनको पुजारी हो। आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ। सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैं विश्व छ, दूर छ तर दूरताको दिव्य जादू। यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ।
हीरा सानो हुन्छ, मोती सानो हुन्छ मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ। मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ। यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओकारको बिन्दु झै परमानन्द घनीभूत छ। सानो भनेको के, ठूलो भनेको के? यो दुनियाँमा तारालाई ठूलो भनौ भने अनन्त आकाश जूनकीरी जस्ता देखिन्छन्। बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादूगरी दर्शाइरहेछन्। संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन् एक भौतिक, एक आध्यात्मिक।
नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ। माटोको परिमाणले खेत ठूलो म गन्दिनँ, त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र। ब्रिटिश कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ। ‘धत्, नेपाली पनि पढ्नु? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्।’ भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ। उल्टो पाखण्डीपन हेर्न मन लाग्छ।
अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन्, तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो! को हो’ को सौन्दर्य महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव–वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ। ‘गाइनेको रानीवनैमा’ सुन्न चाहन्छु।
विदेशले कति घिच्याएको छ हामीलाई हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो भोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत–सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ।
कोही हिन्दी भन्दछन्, कोही बङ्गाली, म भन्दछु, नीला पहाडहरूको पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरू। मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको भतना यही हो। हो नेपाल १ यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्। मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ।
नालाहरूका प्राकृतिक वेद बुझने आजकल कति हृदय होलान्! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन्! के साना चराहरू हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन्? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खाँदलो भइरहेछन्, के ती साना छन्? सच्चा आर्यभावना जसलाई भनिन्छ त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती शान्त तरल भाव–प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ। किनकि यहाँ कारखानाको धूवाले दूषित वायुमण्डलमा सभ्य माकुराको जालोजस्ता तरंगहरू खेल्न पाउँदैनन्।
प्रतिकृया दिनुहोस