ऊर्जामन्त्री पुनले राजदूत होङलाई भने, चिनियां लगानीकर्ताले ढुक्क भएर नेपालमा लगानी गरे हुन्छ 

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । 

भेटमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक,ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी अक्टोवरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो । नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रकोे बैठक यही सेप्टेम्बर २७ र २८ गते काठमाडौंमा बस्दैछ । चीनसंग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ ।  

भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्र्तरदेशिय प्रशारण लाइन र जलविद्यूत आयोजना निर्माणलगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुंदा त्यसले दुवै देशलाई फाइदा पुग्ने बताए । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह गरे । 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका ऊर्जामन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहरुबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियां लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे । उनले सरकारको विकास र समृद्धीको सपनालाई पुरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिए । 

वङगलादेशसंग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै उर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार विजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए । 

भेटमा चिनियां राजदूत होङले ऊर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको वैठक काठमाडौंमा बस्न लागेको भन्दै त्यसका लागी धन्यवाद समेत दिदै त्यसले दुवै देशको उर्जा क्षेत्रलाई फाईदा पुग्ने बताईन ।

राजदूत होङले भेटमा भनिन्, ‘मन्त्रीज्युको पहलमा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको छ, यो पहिलो पाईंला भएपनि निकै महत्वपूर्ण बैठक हो,यो संयन्त्रबाट दुवै देशले आ–आफ्ना देशका समस्या र सम्भावनाहरु प्रष्टसंग राख्न सजिलो भएको छ,यसका लागी छिटो पहल गरिदिनुभएकोमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणका बेला इनर्जी कोअपरेशनमा हस्ताक्षर भएपछि दुवै देशबीच उर्जा क्षेत्रमा संयन्त्र निर्माण गर्ने सहमती भएको थियो । चिनियां राजदूतले संयन्त्रको बैठकमा नेपालले उर्जा क्षेत्रको अवस्था र उर्जा क्षेत्रको विकासको लागी के कस्ता निती सरकारले अघि सारेको छ त्यसबारेमा समेत आफ्नो निती सार्वजनिक गर्दा चिनियां लगानीकर्तालाई सजिलो हुने सुझाव समेत दिइन ।

चिनियां राजदूतसंगको भेटमा चिनिया लगानीमा संचालित परियोजनामा भएका समस्या, नेपालले यसअघि वेल्ट एण्ड रोड फण्डमा पठाएका जलविद्युत परियोजना र प्रशारण लाइनहरुको अवस्था र आगामी दिनमा उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल भएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर