फिल्मी शैली ‘हेरा हेर’ मा प्रेम अनि विवाह

भनिन्छ, जन्म मृत्यु र विवाह माथिबाट नै लेखेर आएको हुन्छ । त्यसैले त आँखाले देखेको अनि मनले रोजेको धेरै कुराहरू जीवनमा पाउन कठिन हुन्छ । तर प्रयास र संघर्ष गरियो भने असम्भव भन्ने कुरा पनि कमै हुन्छन् ।

ठकुरी परिवारकी पुष्मा बम अनि क्षेत्री परिवारका तुलसी बस्नेतको प्रेम पनि माथिबाट नै लेखिएको थियो । हैन भने ‘फिल्मी शैली’ हेराहेरमा बसेको प्रेम विवाहमा परिणत कमकै मात्र हुन्थ्यो ।

२०२८ साल मंसिर १६ गते इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा जन्मनु भएका तुलसी बाल्यकालमा निकै मिजासिलो स्वभावका हुनुहुन्थयो । बुबा गंगाबहादुर बस्नेत र आमा मनमाया बस्नेत ११ औँ सन्तानका तुलसी सबैको प्यारो र मायामा हुर्किनु भएको थियो । बुबा शिक्षक हुनु भएकोले सानैदेखि तुलसीलाई पढाईमा विशेष जोड दिन आग्रह गर्नु हुन्थ्यो । गाउँले जीवन कहिले बनपाखासँग लुकामारी त कहिले खोलानालासँग रमाउँदै तुलसीको बाल्यकाल सुखमय रुपमा बित्यो ।

उहाँले २०४८ एसएलसी पास गरेपछि उच्च शिक्षा भद्रपुरबाट कानुन संकायमा आइएल गर्नु भयो । २०५० सालमा विएल पढ्नको लागि काठमाडौं छिरेपछि उहाँको वास्तविक जीवको यात्रा सुरु भयो ।
सपनाको शहर काठमाडौं, देखिएका कथा भन्दा भोगिएका कथाहरूको बेग्दै स्वादसँगै तुलसीको जीवन बितिरहेको थियो । रेडियोको जागिर संगीतको यात्रासँगै दिनहरू बित्दै गए । उहाँ काठमाडौंको घट्टेकुलामा बस्नु हुन्थ्यो जहाँ उहाँले पुष्पालाई पहिलो पटक भेट्नु भएको थियो ।

पुष्पा बमको जन्म धनगडी नगरपालिका वडा नम्बर १ अदालत रोड कैलालीमा २०३५ साल जेठ १५ मा भएको हो । बुबा मानबहादुर बम र आमा राधादेवी बमको चार सन्तानमा पुष्पा तेस्रो सन्तान हुनुहुन्थ्यो । उहाँ बाल्य कालमा अलिकति जिद्दी स्वभावको हुनुहुन्थ्यो । आफूले मन पराएको चाहेको कुरा कुनै पनि अवस्था हासिल गर्नुपर्छ भन्ने सोच राख्नु हुन्थ्यो । परिवारको कान्छी छोरी उहाँ सबैको मायामा हुर्कनु भयो ।

पुष्पालाई भान्साको काममा भन्दा पनि घर सफा गर्न, चिटिक्क भएर बस्न धेरै मन पर्दथ्यो । उहाँ पढाईमा पनि निकै राम्रो हुनुहुनथ्यो । उहाँले २०५२ सालमा एसएलसी पास गर्नु भएको थियो । प्लस टू को परीक्षा दिएर धनगडीबाट काठमाडौं सानी आमा पद्मा बमको घर घट्टेकुलो आएको समय पुष्पाको भेट तुलसीसँग भएको थियो ।

तुलसी पुष्पाको सानी आमाको घर भन्दा पल्लो घरमा बस्नु हुन्थयो । एक दिन पुष्पा बजारबाट फर्कदै हुनुहुन्थयो । तुलसी रेडियोमा जाँदै हुनुहुन्थयो । ‘फिल्मी शैली’ मा बाटोमा एक अर्काको नजर जुध्यो । एकछिन एकअर्कालाई हेरेर टोलाउनु भयो । तर बोलचाल बिना नै आफ्नो आफ्नो बाटो लाग्नु भयो । केही पर पुग्दै फर्केर हेर्दै गर्दा दुबै जनामा मनमा प्रेमको घण्टी बजिरहेको थियो । त्यही पललाई सम्झेर तुलसीले गीत पनि रचना गर्नुभएको थियो ‘हेरा हेरमै अजाभोलि दिन ढल्कि गयो पिरती नै यस्तै होकि मन पल्की गयो’

त्यो दिनबाट उहाँहरूले एक अर्कालाई कियर बाटो हिड्दा घरबाट भित्र बाहिर गर्दा गर्न थाल्नु भयो । बिस्तारै छतबाट इसारा इसारमा कुरा हुन थाल्यो । कौशीबाट नै सांकेतिक भाषामा एक अर्काले फोन नम्बर साटा साट गर्नु भयो । पुष्पाको सानी आमा घरमा नभएको समय पारेर कहिले काँही तुलसीले फोन गर्ने गर्नु भयो । यरी प्रेमको पालुवा पलाउँदै गयो । सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तुलसीले हरेक दिन पुष्पाले पनि गीत सुनाउन चाहेको भन्दै रेडियोबाट नाम लिने गर्नु हुथ्यो । गायक रोशन गुरुङ तुलसीको मिल्ने साथी हुनुहुन्थयो । उहाँको बहिनी उषा गुरुङ पुष्पाको मिल्ने साथी हुनुहुन्थयो । उषाले नै पुष्पा र तुलसीलाई नजिक हुन मद्दत गर्नु भएको थियो । उषाको कोठामा नै तुलसीले पुष्पालाई प्रेम प्रस्ताव गर्नु भएको थियो ।

चिनेको छोटो समयमा माया बसेको थियो । पुष्पाको मनमा त्यतिबेला धेरै कुरा खेलिरहेका थिए । तुलसीको बारेमा पुष्पालाई धेरै कुरा थाहा थिएन । भोलिको दिनमा सम्बनध कस्तो हुन्छ होला भन्ने पनि पुष्पालाई चिन्ता थियो । यसै बीचमा पनि पुष्पाले तुलसीको प्रेमलाई स्वीकार गर्नु भएको थियो ।

प्रेम स्वीकार भएको केही दिनमा पुष्पा धनगडी जानु भयो । पुष्पालाई छोड्नको लागि तुलसी बसपार्कसम्म जानु भएको थियो । पुष्पाले धनगडी पुगेर नगरपालिकाम जागिर सुरु गर्नु भयो । यता, तुलसी हरेक दिन कार्यक्रममा पुष्पाको नाम सुनाउँदै दिनहरू बिताउन थाल्नु भयो ।

रेडियोको जागिरबाट आएको पैसाले आफ्नो आवश्यकता पुरा गर्नु त छदै थियो । त्यसमा पनि मिनेटको १४ रुपयौँ तिरेर १०,१२ मिनेट एसडिटीमा कुरा गरेको देखेर पसलको साहुले पनि कति महंगो प्रेम भनेर जिस्काउँथे । त्यतिबेला काठमाडौंमा १५ सयमा दुई कोठा पाइन्थ्यो ।

वर्षमा एक पटक तुलसी पुष्पालाई भेटनको लागि धनगडी जानु हुन्थ्यो । एक अर्का बीचको प्रेमको बारेमा धेरैलाई थाहा नहोस् भनेर पुष्पाले तुलसीलाई केटीको नाममा चिठ्ठी लेख्न लगाउनु भएको थियो । हप्तैपिच्छे नगरपालिमा चिठ्ठी आउँथ्यो । चिठ्ठीमा नै माया प्रेममा कुराहरू हुन्थे ।

तुलसी र पुष्पाको प्रेमको बारेमा धनगडीमा पुष्पाको मिल्ने साथी गोमा भण्डारीको परिवारलाई थाहा थियो । पुष्पा र तुलसीको भेट त्यही हुन्थ्यो । यसरी दिन बित्दै गयो । तुलसीले पुष्पाको बारेमा आफ्नो परिवारमा भन्नु भयो । परिवार विवाहको लागि राजी हुनु भयो । उता, पुष्पाले पनि आफ्नो परिवारमा तुलसीसँगको प्रेमको बारेमा कुरा त राख्नु भयो तर ठकुरीको छोरीले ठकुरीसँग नै विवाह गर्नुपर्छ भन्ने परिवारको अडान थियो ।

केही समयको लागि पुष्पाको मनमा परिवारको कुरालाई मान्नु पर्छ भन्ने लागेको थियो । तर जब पुष्पाले आफ्नो प्रेम सम्बन्धलाई सम्झनु भयो । मनमा अनेक कुराहरू आउन थाले । कसैलाई दिएको बाचा कसैको मनलाई दुखाएर खुसी हुन नसक्ने निर्णय गर्नु भयो । त्यसपछि आफ्नो ५ वर्षको प्रेमलाई सफल बनाउन भाग्ने निर्णय लिनु भयो ।

तुलसी पुष्पालाई भगाउनको लागि धनगडी नै जानु भयो । पुष्पा महिनामा धेरै पटक तालिमको लाति नेपालगञ्ज आइरहने हुँदा यो पटक पनि नेपालगञ्ज तालिममा जाने भनेर भाग्ने निर्णय भएको थियो । ब्यागमा कपडा राख्दै गर्दा पुष्पाको मनमा धेरै कुरा खेलेका थिए । आमा बुबालाई तालिम भने पनि आफूले जन्मघर छोड्दै गरेको पीडा मनमा थियो ।

बसमा चढ्ने समयमा पुष्पालाई पुर्याउन उहाँको दाई आउनु भएको थियो । बसपार्क भन्दा केही परबाट तुलसी बसमा चढ्नु भएको थियो । जबसम्म तुलसी पुष्पालाई लिएर चितवन पुग्नु भएन तबसम्म तुलसीको मनमा कतै कोही आएर पुष्पालाई लिएर जानु हुन्छ की भन्ने डर थियो ।
तुलसी र पुष्पा धनगडीबाट सिधैँ इलाम जानु भयो । त्यहाँ तुलसीको परिवारलाई पुष्पा आउने कुरा थाहा थियो । यसरी तुलसीको परिवारको उपस्थितिमा मात्र २०५९ फागुन २९ गते भव्य रुपमा विवाह भयो ।
उता, पुष्पाको माइती परिवारमा भागेर विवाह गरेको कुरा थाहा भयो । परिवारले पनि पुष्पा र तुलसीलाई खुसी खुसी स्वीकार गनुभयो । त्यसपछि तुलसी र पुष्पाको सहयात्रा सुरु भयो ।

विवाहपछि तुलसी र पुष्पा काठमाडौं आउनु भयो । तुलसी रेडियोमा नै जागिरे हुनुहुनथ्यो । पुष्पाले घर खर्च चलाउनको लागि किराना पसल गर्नु भयो । तर त्यो पसल राम्रोसँग चलाउन सक्नु भएन अनि बेचिदिनु भयो ।
दिनहरू बित्दै गए २०६० सालमा छोरा सम्मानजंग बस्नेतको जन्म भयो । परिवारमा आवश्यकतासँगै जिमेवारी बढ्दै गयो । रेडियोको जागिरले मात्र घर परिवार सम्हाल्न कठिन हुन थाल्यो । त्यसपछि पुष्पा पनि जागिर खान थाल्नु भयो ।

विवाह अगाडिको प्रेममा गरिने अपेक्षा विवाहपछि फरक हुँदै गयो । विवाह अगाडि फोनमा घण्टौ कुरा गर्ने तुलसी एक मिनेटमा नै फोन राख भन्न थाल्नु भयो । सानो अनि मिठास आवाज भएको तुलसी झर्केको देखेर पुष्पाको मन दुख्न थाल्यो । सांगितिक क्षेत्रका तुलसी रातीमा घर आउनु हुन्थ्यो । यो देखेर पुष्पाको मनमा धेरै कुराहरू खेल्थे । विवाह अगाडि देखेको सपना भन्दा फरक जिन्दगी भोग्नु पर्दा कहिले काँही एकान्तमा बसेर रुनुहुनथ्यो ।

तर पनि तुलसीलाई कहिले शंका गर्नु भएन । जीवन र सम्बन्ध भनेकै सम्झौता हो भनेर आफ्नो मनलाई सम्झाउन थाल्नु भयो । भाग्यमा जे कुरा हुन्छ त्यसैमा खुसी हुन सक्नु पर्छ । मेरो जीवन भनेकै मेरो श्रीमान हो भनेर खुसीको बाटोहरू खोज्न थाल्नु भयो । बिस्तारै आफ्नो मनलाई सम्झाउँदै जाँदा तुलसीको बानी व्यवहार सामान्य लाग्दै गयो । एक अर्काकम प्रेम प्रगाढ हुँदै गयो ।

घर हो, कहिले काँही सामानय कुरामा पनि केही मनमुटा हुन्छ तर उहाँहरूले त्यसलाई झगडाको रुप दिनु भन्दा सम्झदारीमा अगाडि बढ्नु हुन्छ । जन्म दिन, वैवाहिक वर्षगाठ भव्य रुपमा न मनाए पनि एक अर्कामा खुसी साट्न कहिले बिर्सनु हुँदैन । तुलसीको लागि हरेक कुराको सपिङ पुष्पाले नै गर्नु हुन्छ । पुष्पा अरुले रोजेको समान भन्दा आफैले रोज्नमा रमाउनु हुन्छ ।

जन्म मृत्यु र विवाह माथिबाट लेखेर आएको हुन्छ । विवाह जीवनलाई सहज तरिकाले डोर्याउने माध्याम हो । एउटालाई दुख्दा अर्कोले मलम लगाउने काम बैवाहिक सम्बन्धमा हुन्छ । जीवनका अपठ्यारा र सजिलो पाटोमा कोही नजिको साथी बन्छ भने विवाहपछि आएको साथी हो ।
विवाहपछिको सम्बन्धलाई सुमधुर बनाउन एक अर्कामा भएको कम्जोरीलाई स्वीकार गर्दै सम्झौतामा जानुपर्छ ।

तुलसीको रुची गीत लेखन तथा साहित्यक सृजनामा बढि छ । उहाँले विभिन्न विद्यामा १४० भन्दा बढी गीत रेकर्ड गराउनु भएको छ । उहाँ लामो समयमदेखि बि एफ बि एस रेडियो कार्यरत हुनुहुन्छ । पुष्पा सरकारी जागिरे हुनुहुन्छ ।–(नवनारी म्यागजिनबाट)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर