निजी डेरीले दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारको आपत्ति

काठमाडौं । केही निजी डेरीले उपभोक्तालाई मार पर्ने गरी गरेको दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको छ । सरकारसँग समन्वय नै नगरीकन उपभोक्तालाई असर पार्ने गरी दूधमा गरेको मूल्य फिर्ता लिन आग्रह गरिने भएको छ ।

केही निजी डेरीहरूले शनिवारदेखि लागु हुने गरी लिटरमा १४ रुपियाँ वृद्धि गरेको छ । अब उपभोक्ताले दूधको प्रति प्याकेट (आधा लिटर)लाई ५० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।  यसअघि प्रति पोका ४८ रुपैयाँमा उपभोक्ताले दूध किन्न पाउँथे तर त्यसमा खुद्रा मूल्य दुई रुपियाँ वृद्धि गरी ५० रुपियाँ पुर्‍याएको छ । राष्ट्रिय दूध विकास बोर्डका प्रमुख डा.राजेन्द्र यादवले डेरी उद्योगीले गरेको मूल्य वृद्धि ऐन र नीति विपरीत रहेको बताए । उनले भने, ‘डेरी उद्योगीले गरेको यो मूल्य वृद्धि राष्ट्रिय दुग्ध विकास नीति २०७८ र राष्ट्रिय दुग्ध विकास ऐन विपरीत रहेको र यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो ।’

गत माघमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट दूधको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मूल्य तोकेको दुई वर्षपछि मात्र मूल्य परिमार्जन वा समायोजन गर्नुपर्ने नीति छ तर एक वर्ष नबित्दै डेरीवालाले मूल्य वृद्धि गरेर उपभोक्तालाई मर्कामा परेको उनले बताए । दूधको मूल्य वृद्धि गर्दा वा समायोजन गर्दा बोर्डसँग समन्वय गर्नुपर्ने तर त्यस्तो नगरी आफ्नै मनले मूल्य गरेको बताउँदै उनले भोलि यसको विषयमा मन्त्रालयमा छलफल गरी कुनै आवश्यक निर्णय लिने बताए ।

निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्यमा वृद्धि गरेको हो । निजी डेरीका अनुसार किसानले सङ्कलन खर्चसमेत जोडेर प्रतिलिटर ७२ रुपैयाँ पाउनेछन् । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रूपैयाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । 

नेपाली डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यकै आधारमा केही डेरी उद्योगीले मूल्यवृद्धि गरेको बताए । उनले भने, ‘उद्योगीले लिटरमा १४ रुपैयाँ मूल्यवृद्धि गरेको छ, त्यसमध्ये १२ रुपियाँ किसानलाई दिनेछ भने दुई रुपियाँ उद्योगीले आफै राख्नेछन् ।’ उनले विगतमा सरकारले दूधको मूल्य तोके पनि डेरी उद्योगीहरूले घाटामा दूध बिक्री गरेको कारण अहिले मूल्य वृद्धि गर्न बाध्य भएको बताए । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सबै क्षेत्रसँग समन्वय गरेर दूधको मूल्य वृद्धि गर्नुपर्थ्यो तर त्यस्तो नगरेर यसलाई विवादमा ल्याएको बताए । उनले भने, ‘दूधको मूल्य वृद्धि गर्न हतार गर्नुहुँदैनथ्यो, सरकारदेखि लिएर सबै सरोकारवालाहरूसँग छलफल गरेर मात्र वृद्धि गर्नुपर्थ्यो र सो मूल्यमा सबैले खरिद बिक्री गर्न पाउँथ्यो तर अहिले त्यस्तो भएको छैन, केही उद्योगले मात्र यो आफ्नो तरिकाले वृद्धि गरेको छ अन्य उद्योगको मूल्य हालसम्म यथावत् रहेको छ ।’  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर