मन्त्रिमण्डल विस्तार हुँदा माओवादी केन्द्रले पठाएन मधेश प्रदेशमा मन्त्री

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । शुक्रबार प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ जना मन्त्री र ३ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री यादवको सिफारिसमा मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् । स्वतन्त्रबाट निर्वाचित जसपा प्रवेश गरेकी सुरिता साहले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएकी छन् । 

जनमत पार्टी संसदीय दलका नेता महेश यादवले शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, एमालेका शत्रुध्नप्रसाद सिंह गृह तथा संचार, एमालेका मो। जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, जसपाका सिंगासन साह कलवार खानेपानी तथा उर्जा र एमालेका राजकुमार लेखीले कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

यता सामाजिक विकास राज्यमन्त्री जसपाका शेष अबुल कलाम आजाद, एमालेका केशव राय गृह तथा संचार राज्यमन्त्री र जनमतका संजयकुमार यादव भूमि, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रालयमा भागबण्डा नमिल्दा सत्ता साझेदर दल नेकपा (माओवादी केन्द्र)ले भने मन्त्री पठाएको छैन । मन्त्रालय भागबण्डाका क्रममा एउटा मन्त्रालय मात्रै दिने तयारी गरिए पछि माओवादी केन्द्रले मन्त्री नपठाएको बताइएको छ । माओवादीले दुई वटा मन्त्रालयको माग गर्दै आएको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय माओवादीका लागि राखिएको छ ।

गत पुस २९ गते मुख्यमन्त्री यादवले ३ बिनाविभागीय मन्त्रीहरूसहित शपथ लिएका थिए । सरकार गठनको तीन सातापछि भागबण्डामा विवाद टुगिँदा आज मन्त्रिपरिषद् विस्तार गरिएको हो । मुख्यतः जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाउनैपर्ने अडानमा थियो ।

विवाद बढ्दै जाँदा मन्त्रिपरिषद्‍मा विस्तार ढिलाई हुँदै गएपछि अन्ततः सामाजिक विकास मन्त्रालयलाई फुटाएर शिक्षा र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समावेश गरी शिक्षा, विज्ञान, वाणिज्य नामकरण गरी जनमतलाई दिएर विवाद टुंग्याएको हो ।

अहिलेको मधेश सरकारमा पछिल्लो निर्वाचनमा स्वतन्त्रबाट जितेका दुई सांसदले पार्टी प्रवेश गरेर अवसर पाएका छन् । महोत्तरी २ (२) बाट निर्वाचित सुरिता साह जसपा प्रवेश गरी सामाजिक र बारा ३ (१) बाट निर्वाचित केशव रायले एमाले प्रवेश गरी गृह तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

बिनाविभागीय मन्त्रीमा शपथ ग्रहण गरेकाहरू यसअघि नै एमालेका सरोज यादवले भौतिक पूर्वाधार विकास मन्त्री, जसपाका संजय यादवले अर्थ मन्त्रालय र जनमतका बसन्त कुशवाहाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका जिम्मेवारी पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर