बढ्यो नेपाल भित्रने विदेशी मुद्रा, विदेशी विद्यार्थीले कति ल्याउँछन् ?

काठमाडौँ । नेपालबाट वैदेशिक अध्ययनका लागि ठुलो रकम बाहिरिने गरेको छ । गत अर्ब मात्रै १ अर्ब बढी विदेशी मुद्रा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिएको थियो । यस्तो रकममा पछिल्लो समय झन् झन् बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३२ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालबाट विदेशी अध्ययनका लागि बाहिरिएको देखिन्छ । तर, सोही शीर्षक अर्थात् नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरू मार्फत भित्रने रकम पनि निरन्तर बढ्दो क्रममै छ । गत आवको असोज मसान्तसम्मको तुलनामा विदेशी विद्यार्थीहरू मार्फत नेपाल भित्रने रकम २/१८ गुणाले बढेको छ ।

राष्ट्र बैङ्कका अनुसार गत आवको पहिलो त्रैमासमा शिक्षा मार्फत ७२ करोड ८०  लाख रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो शीर्षकको रकम ११८.६१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार चालु आवको पहिलो त्रैमासमा विदेशी विद्यार्थीहरूले नेपाल अध्ययनका लागि १ अर्ब ५९ करोड १५ लाख रुपैयाँ भित्र्याएका छन् । अघिल्लो आवको पहिलो त्रैमासमा नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले जम्मा ३४ करोड ११ लाख रुपैयाँ मात्रै विदेशी मुद्रा ल्याएका थिए । तर, पछिल्लो समय शिक्षा मार्फत नेपाल भित्रने विदेशी मुद्रा पनि निरन्तर बढेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।

नेपालका विभिन्न विश्व विद्यालयमा विदेशी विद्यार्थी अध्ययन गर्न आउने गर्छन् । कानुन, डाक्टर लगायत विषय अध्ययन गर्न विदेशी विद्यार्थी नेपालमा आउने गर्छन् । नेपालका त्रिभुवन विश्व विद्यालय लगायतका युनिभर्सिटीमा विदेशी विद्यार्थी अध्ययनरत छन् । उनीहरूले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शीर्षकमा ठुलो रकम खर्च गर्छन्, त्यसबापत विदेशी मुद्रा पनि भित्रिने गरेको छ ।

यद्यपि, नेपालबाट शिक्षा मार्फत भित्रने भन्दा बाहिरिने रकम नै धेरै छ । चालु आवको पहिलो त्रैमासमा पनि शिक्षा मार्फत नेपालबाट बाहिरिने र भित्रने रकममा ३१ अर्ब ३३ करोड २७ लाख रुपैयाँ अन्तर छ । विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ । रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनै लागि नेपाली विद्यार्थी अध्ययनका लागि ठुलो सङ्ख्यामा बाहिरिएको देखिन्छ ।

नेपालमा रोजगारीको अवसर नहुनुले पनि विदेशिनेको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । नेपालमा उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ । अर्को तर्फ अध्ययन सकेपछि पनि रोजगारीको अवसर कम हुने भएकाले पनि भविष्य सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको जानकारहरू बताउँछन् । नेपालको शिक्षालाई अझै गुणस्तर बनाएमा ठुलो सङ्ख्यामा विदेशी विद्यार्थी आउन सक्छन्, फलस्वरूप विदेशी मुद्राको आम्दानी समेत बढ्ने विज्ञहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर