साउदीसँग नयाँ श्रम सम्झौता गर्दै नेपाल

काठमाडौं । नेपाल सरकारले कतारसँगको श्रम सम्झौतामा परिमार्जन गर्ने भएको छ । अर्को श्रम गन्तव्य साउदीसँग भने नयाँ श्रम सम्झौता गर्ने समझदारी भएको छ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग संयुक्त अरव इमिरेट्स (युएई)मा भएको आबुधाबी डायलगको साइडलाइन बैठकमा यस्तो समझदारी भएको हो । 

 नेपाल र कतारबीच २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । परिमार्जन गर्न लागिएको श्रम सम्झौता नेपालमा हुन गइरहेको कतारी अमिरको भ्रमणको समयमा हस्ताक्षर गर्ने सहमति भएको हो । कतारी अमिरको पहिलो पटक अप्रिलमा नेपाल भ्रमण हुँदैछ ।

सम्झौतामा सीप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठक मार्फत छिट्टै टुङ्ग्याउने सहमति भएको छ । बैठकमा कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्ने कार्यमा सहकार्य गर्ने प्रस्ताव राखेको छ ।

यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा श्रम सम्झौताको प्रस्तावित मस्यौदालाई अन्तिम रुप दिई एक महिनाभित्र हस्ताक्षर गर्ने सहमति भएको छ । प्रस्तावित सम्झौतामा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बिमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर