एमाले ओखलढुंगाका अध्यक्ष कटवालले छाडे पार्टी
काठमाडौँ । नेकपा एमाले ओखलढुंगामा अधिवेशनका कारण भाँडभैलो देखिएको छ ।
दशौँ जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर मनपरी गरेको भन्दै जिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी परित्याग गरेका छन् । तत्कालीन जिल्ला अध्यक्ष कटवालले पार्टी जिल्ला अधिवेशनमा नेतृत्वले देखाएको रवैया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् ।
जिल्ला कमिटी ओखलढुङ्गाको दशौँ जिल्ला अधिवेसन बुधवार सम्पन्न भएर जीबी खड्काको अध्यक्षता जिल्ला कमिटी गठन भैसकेको छ ।
‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन् ।
उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन् ।
‘यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज क।खगेन्द्र राईमार्फत मिति २०८०,१२र२७ गते बेलुका पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु’, कटवालले भनेका छन् ।
'मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ,न राजनैतिक कर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ ,न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ।यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका 6.00 बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु। आज वाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु,' उनले भनेका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको दसौँ एमाले जिल्ला अधिवेशनमा खड्काले निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।
प्रतिकृया दिनुहोस