हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा

चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी ९इभी० र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने छ । साथै एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरुसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर