मध्यराति घरमा आगलागी : श्रीमान-श्रीमतीको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा मध्यराति आगलागी हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । गए राति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु ज्यान गएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो । सूचना प्राप्त लगतै इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो । प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको डिएसपी मिश्रले जानकारी दिए । उनका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ । राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ ।


‘घरमा वयोवृद्ध बुढाबुढी मात्रै बस्नु हुँदोरहेछ, उहाँहरू निस्कन सक्नु भएन होला,’ डिएसपी मिश्रले भने । राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताएका छन् । थाक्रे गाउँपालिका–५ का वडाध्यक्ष सन्तबहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ । ‘मुचुल्काका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं,’ उनले सुनाए । वडाध्यक्ष तामाङका अनुसार स्थानीयले पानी ओसारेर आगो निभाएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर