पठाओ र इन्ड्राइभ बिच अब हुनेछ ‘नेक टु नेक’ प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंको व्यस्त सहरमा कोही व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा सजिलै र छिट्टै पुग्न चाहन्छन् भने उनीहरूको रोजाइमा राइड सेयरिङ नै पर्ने गर्छ । विदेशमा फुर्सदको समय सदुपयोग गर्न र अतिरिक्त आम्दानीका लागि चालकहरू राइड सेयरिङ कम्पनीमा आबद्ध भएको पाइन्छ । तर,  नेपालीले भने यसलाई मुख्य पेसा नै बनाउन थालेका छन् । यसको एउटै कारण नेपालमा बेरोजगार दर बढी हुनु पनि हो ।

पछिल्लो समय यो राइड सेयरिङमा मात्र सीमित नभएर फुड डेलिभरी, पार्सल डेलिभरी र टुकटुके (अटो) मा समेत यो सेवा बिस्तार भएको छ । हाल नेपाली बजारमा चर्चामा रहेका दुई मुख्य राइड सेयरिङ एपहरू पठाओ र इनड्राइभ हुन् । त्यसो त नेपाली बजारमा टुटल, सहारा, लुजुम जस्ता राइड सेयरिङ पनि छन् । तर, पछिल्लो समय चर्चामा रहेको र प्रतिस्पर्धामा रहेका दुई ठूला भने पठाओ र इनड्राइभ नै हुन्।


पठाओ नेपालमा सन २०१८ सेप्टेम्बरबाट आसिममान सिंह बस्न्यातको टिमले सुरु गरेको हो । यद्यपि, बङ्गलादेशमा सन् २०१५ मै यसको सुरुवात भएको हो । कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध छ । काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित रहेको पठाओ वैशाखबाट सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको हो ।

नजिकैको एक सहरबाट अर्को सहरमा जान ‘इन्टर सिटी बुकिङ’ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको बस्न्यातले बताए । पठाओले राइडरहरूबाट हाल २५ प्रतिशत कमिसन लिँदै आएको छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध रहेको कम्पनीले जनाएको छ । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा पनि पठाओले राखेको बताएको छ। पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । साथै, सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्ने व्यवस्था छ ।

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ ।

यसैगरी इनड्राइभ भने अनौपचारिक रूपमा सन् २०१८र१९ बाट नै सञ्चालन हुँदै आएको भए पनि औपचारिक रूपमा सोमबार (वैशाख २४) बाट सुरु भएको हो ।

कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले सोमबारदेखि पत्रकार सम्मेलन नै गरेर १० प्रतिशत कमिसन लिने जानकारी गराएको छ ।

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिडर पवित नन्दा आनन्दले भनिन्, ‘एउटा ब्राण्डको रूपमा इन्ड्राइभको मिसन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरूका लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो ।’

कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा पनि आफ्नो सेवा सुरु गरेको इन्ड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले बताइन् । छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि दिने उनले बताइन् ।

पछिल्लो समय ट्राफिक प्रहरीले दर्ता बिना चलेको भन्दै इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने गरेको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनयता २० हजार बढी राइडरहरू कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अफलाइन चलाउने, सवारी रोकेर बाटो हिँडिरहेकालाई दुःख दिने, बढी शुल्क असुल्ने लगायतका विषयमा उनीहरूलाई कारबाही गरिएको हो ।

दर्ता भएसँगै यो समस्या हल भएर जाने विश्वास कम्पनीको छ र इनड्राइभले भने हालसम्म उनीहरूसँग कति व्यक्ति आबद्ध छन् भन्नेबारे आधिकारिक रूपमा खुलाएको छैन ।

राइड सेयरिङ एपहरूमा प्रयोग भएको व्यक्तिगत तथ्यांकको दुरुपयोग भएको समाचारसमेत बेलाबेला बाहिर आउने गरेका छन् । यस्ता किसिमका घट्नाहरू हुन नदिन इनड्राइभले कस्तो नीति लिएको छ भन्ने विकासन्युजको प्रश्नमा पोखरेलले भनिन्, ’राइडर र ग्राहकबीच भएको कुराकानी हामीले पनि हेर्न मिल्दैन, दुर्घटना लगायतका विशेष परिस्थितिमा मात्रै हामीले हेर्न मिल्ने हो ।’

अन्य राइड सेयरिङहरूभन्दा इनड्राइभ सस्तो हुने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको थियो । तर, कम्पनीले चालकबाट १० प्रतिशत कमिसन लिएसँगै इनड्राइभको लोकप्रियता पनि घट्ने हो कि भन्ने प्रश्न उब्जिएको छ ।

तर, पोखरेल भने यस विषयमा फरक उत्तर दिँदै भनिन्, ‘हामीले एउटा प्रक्रिया मात्रै पूरा गरेका हौं, इनड्राइभले कमिसन घटाउन सक्ने वा आफ्नो रेटमा चालक रोज्न पाउने सुविधा दिएकोले १० प्रतिशत कमिसनले खासै धेरै प्रभाव पार्दैन ।’

आधिकारीक रूपमा सुरु भएसँगै इनड्राइभ र पठाओबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । बस्न्यात भने इनड्राइभ अनौपचारिक रूपमा करिब तीन वर्षअघिबाटै बजारमा रहेकाले हाल दर्ता हुँदैमा यसले आफ्नो व्यवसायमा कुनै पनि असर नगर्ने दाबी गर्छन्  ।

‘इनड्राइभले करिब तीन वर्षयतादेखि नै सेवा दिइरहेको छ,’ उनले भने, ‘हामीले ३ वर्षदेखि नै उहाँहरूसँग प्रतिस्पर्धा गरिरहेका छौं, यसले हामीलाई खासै प्रभाव पार्दैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर