पदीय दुरुपयोग गरी मेरा दाइ, भाइको व्यापारमा फाइदा पुग्ने काम गरेको छैन– कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले पदीय दुरुपयोग नगरेको बताएका छन् । केही संचारमाध्यमले आफूविरुद्ध लगाता भ्रामक समाचार प्रकाशन गरेको भन्दै उनले विज्ञप्ती निकाले खण्डन गरेका हुन् । 

‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् । प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्दछु,’ उनले भने । 

यस्ता समाचार प्रकाशन गरेर आफूलाई हतोत्साहित गर्न खोजिएको घिसिङले बताए । 

‘निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थकासाथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको मेरो ठम्याइ रहेको छ । यस्ता समाचारको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत सबैलाई अनुरोध गर्दछु । अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?’ उनको प्रश्न छ ।

'नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा  स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) अहिले मलाई कमजोर बनाउन र मेरो मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेको छ । प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु । नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेका छन् । र, अझै पारदर्शी रुपमा अगाडि बढाइने छ,’ उनले विज्ञप्ती मार्फत बताएका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर