बर्खास्तमा परेका कोशीका मुख्यमन्त्री कार्की सर्वोच्चको शरणमा

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले गरेको नयाँ सरकार गठनको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री केदार कार्की काठमाडौं पुगेका छन् ।

सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं पुगेको उनका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले जानकारी दिए । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।

अदालत खुल्नसाथ रिट दर्ता गर्ने तयारी रहेको उनको भनाइ छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई दिएको समर्थन र विश्वासको मत गत चैत २६ गते माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यले फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

तर, उनले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान राख्दै ३० दिन कटाएपछि प्रदशे प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन् । ‘प्रदेश प्रमुखले प्रदेशमा एकैपटक दुई वटा मुख्यमन्त्री हुने कल्पना गरेको देखिन्छ’, उनले भने ‘यो गैरसंवैधानिक छ ।’

प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति १० बजेपछि नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा नयाँ सरकार गठनको लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेस गर्न समय दिइएको छ ।

दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहरका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।

मुख्यमन्त्री काठमाडौं पुग्दा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गर्ने तयारी गरिरहेका छन् ।

एमाले(माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् भने प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर