श्रीमतीलाई चढ्न दिएपछि काठमाडौं महानगरले खोस्यो विभागीय प्रमुखको गाडी  

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखलाई चढ्न दिएको गाडी आज (बिहीबार) फिर्ता लिएको छ । गाडी दुरुपयोग भएको भन्दै महानगरले फिर्ता लिइएको हो ।

काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको उजुरीका आधारमा गाडी फिर्ता लिएको हो । बिहीबार श्रेष्ठको बालाजुस्थित निवास पुगेको महानगरको टोलीले गाडी फिर्ता लिएको हो ।

श्रेष्ठले प्रयोग गर्दै आइरहेको गाडी बाहेक अर्को गाडी पनि घरमा लगेको भन्ने सूचना पाएपछि महानगरको टोली उनको घर पुगेको थियो । जहाँ महानगरको बि एए ४८२० नम्बरको मारुती सुजुकी कार फेला परेको छ ।

विभागीय प्रमुखहरूलाई गाडी सुविधा दिइएको छ । एउटा गाडी उहाँहरूले पाउनु हुन्छ । प्रयोग पनि गरिरहनु भएको छ । त्यो बाहेक पनि उहाँले अर्को गाडी लिएर श्रीमतीलाई दिएर घरायसी प्रयोगमा लगाएको सूचना पाएपछि घरमा पुग्दा यो कार भेटियो ।’ ६ महिनादेखि गाडी श्रेष्ठको घरमा प्रयोग गरिरहेको पाइएको महानगर स्रोत बताउँछ ।


गाडीको चाबी पनि श्रेष्ठकी श्रीमतीसँग फेला परेको बताइएको छ । महानगरको टोलीले गाडी कार्यालयमा ल्याएर राखेको छ । महानगरका मेयर बालेन्द्र शाहको सचिवालयले यो विषयमा थप छानबिन गरेर आवश्यक कारबाही गर्ने जनाएको छ ।

सो मारुती कार महानगरपालिकालाई युरोपियन युनियनले अनुदानमा दिएको महानगर स्रोतले बतायो । यता विभाग प्रमुख श्रेष्ठले भने आफूले नै त्यो गाडी प्रयोग गरिरहेको बताएका छन् ।

‘त्यो गाडी मैले नै प्रयोग गर्थे। आज बिग्रिएकाले अर्को गाडीमा आएको थिएँ,’ उनले भने, ‘गाडी बनाउन घरमा मेकानिकल बोलाएको थिएँ । बनाउने भनेर घरमा राखिएको हो’, उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर