बागमती सरकारबाट बाहिरियो एमाले, कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने ?

हेटौंडा । नयाँ सत्ता समिकरण बनेसँगै संघीय सरकारमा भएको राजनीतिक फेरबदलको असर प्रदेश सरकारमा पनि परेको छ । 

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका मन्त्रीहरुले आज माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन् । 

सोमबार बिहान हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमालेका पाँचै जना मन्त्रीहरूले राजीनामा बुझाएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए।

बागमती प्रदेश एमालेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलस्रोत, उर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठले राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री जम्कट्टेललाई एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थन थियो। एमालेले समर्थन फिर्ता लिएसँगै उनको सरकार अल्पमतमा परेको हो।

मुख्यमन्त्री जम्कट्टेलले तत्काल राजीनामा नदिने बरू विश्वासको मत लिने तयारी गरिरहेका छन्।

बागमती प्रदेशमा एमालेको २७ सिट छ। माओवादी केन्द्रको २१ र नेपाली कांग्रेसको ३७ सिट छ। ११० सिटको प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक छ। एमाले र कांग्रेस मिल्दा यहाँ सरकार बनाउन सहज बहुमत देखिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर