भारतले बनाएको महलीसागर बाँधले ३०० बिघा नेपाली धानखेत डुबानमा

काठमाडौं । भारतले सीमा क्षेत्रमा एकपक्षीय रूपमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।

यशोधरा गाउँपालिका–५ भगवानपुर लोहरौली र भैइसहियाका कृषकको ३ सय बिघा बढी धान रोप्न तयार गरिएको खेत डुबानमा परेको छ ।

भारतले बनाएको महलीसागर बाँध (ढोका राख्न बाँकी) मा एक मिटर चौडा डेढ मिटर लम्बाइको मोटामोटा सालका पटरा राखेर पानी छेकेको छ । पानी निकास हुन नपाउँदा नेपालतिर खेत डुबानमा पर्ने गरेको छ । पानीको बहाब नेपालतिर बढ्दा स्थानीयले खेत सुरक्षित गर्न अस्थायी रुपमा बनाएको तटबन्ध भत्किएर गाउँतिरका खेत पनि डुबाएको छ ।

उक्त बाँध सीमा क्षेत्रबाट २ सय मिटरमा पर्छ । भारतको सिद्धार्थनगर जिल्ला, थाना शोहरतगढ अन्तर्गत महली गाउँमा निर्माणाधीन छ । भारतले ०५९ देखि बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पूरा हुन सकेको छैन् । बाँधमा अस्थायी रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ । बाँधकै कारण उक्त क्षेत्रमा नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमा स्तम्भ पनि वर्षाका बेला डुबानमा पर्छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर