जुलाईमा चीनभन्दा अमेरिकाबाट बढी आए पर्यटक

काठमाडौं । सन् २०२४ को जुलाई महिनामा ६४ हजार जना बढी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या अघिल्लो वर्षको जुलाईको भन्दा बढी हो । अघिल्लो वर्षको जुलाईमा ५७ हजार सात सय २६ जना पर्यटकले नेपाल घुमेका थिए ।

यो वर्षको जुलाईमा सबैभन्दा धेरै भारतबाट २१ हजार ४ सय ९१ जना पर्यटक आएका छन् । यस्तै, अमेरिकाबाट ७ हजार ८ सय ६४, चीनबाट ६ हजार ८ सय १९ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

यसैगरी बेलायतबाट ३ हजार ८ सय ६ जना, बंगलादेशबाट ३ हजार ८ सय ७० जना, अस्ट्रेलियाबाट १ हजार ९ सय जना, दक्षिण कोरियाबाट १ हजार ५ सय ३७ जना, भुटानबाट १ हजार २ सय ७ जना, मलेसियाबाट १ हजार १ सय २५ जना र जापानबाट १ हजार १ सय १४ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यस्तै, कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को जुलाईमा झन्डै ७१ हजार जना पर्यटक भित्रिएका थिए ।

नेपालको सरकारी र निजी क्षेत्रले अहिले मनसुनको सिजनलाई पनि लक्षित गरेर पर्यटक भित्र्याउने विभिन्न कार्यक्रम गरिरहेको छ । त्यसको सकारात्मक प्रभाव यो वर्षको जुलाईमा देखिएको व्यवसायीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर