नौ महिनापछि पर्यटन बोर्डको सिइओ नियुक्त गरिँदै, कस्ले मार्लावाजी ?

नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत ९सिइओ० विहीन भएको नौ महिनापछि यसको टुंगो लाग्ने भएको छ। बोर्डको सिइओ छनौट कमिटीले केही दिनमै सिइओ नियुक्ति गर्ने बोर्डको बरिष्ठ अधिकृत प्रदिप बस्नेतले बताए।

पछिल्लो पटक उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले रोकेको कार्यकारी छनोट प्रक्रियाको गाँठो फुकाएपछि बोर्डको कार्यकारी प्रमुखको टुंगो लाग्न आँटेको बताउँदै बरिष्ठ अधिकृत बस्नेतले भने, ‘सिइओ नियुक्तिको लागि अन्तिम प्रक्रिया सकिई सक्यो।’ उनले थपे, ‘हिजोमात्र नियुक्ति प्रक्रियाको सबै काम सकियो, फाइनल अन्तर्वार्ता सकियो, बोर्डको सिइओ अब नियुक्ति हुन्छ।’ सिइओ छनौट उपसमितिले तीन जनाको नाम फूल समितिमा पठाएर उनीहरूको अन्तिम चरणको अन्तवार्ता पनि सकिई सकेकोमा आज–भोलि नै बोर्डले नयाँ सिइओ पाउँने उनले बताए।

सिइओ छनौट उपसमितिमा पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरे, मिलन देवकोटा र मदन आचार्य रहेको बोर्डले जानकारी दिएको छ।

गत वर्ष माघ १५ गते पूर्व सिइओ धनन्जय रेग्मी कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन भएको थियो। पूर्व सिइओ रेग्मीको कार्यकाल सकिएपछि बोर्डले गत चैत २४ गते सिइओ पदका लागि दरखास्त आह्वान गरेको थियो। रिक्त कार्यकारी प्रमुख चयनका लागि राजेन्द्र तामाङ, ऋषि भण्डारी, कमल सापकोटा, मिलन देवकोटा र मदन आचार्य रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। सोही उपसमितिले कार्यकारी पदको लागि कार्यविधि तयार गरी दरखास्त आह्वान गर्दै नेतृत्व चयनको लागि प्रक्रिया बढाएको थियो।

यसै क्रममा छनोट उपसमितिविरुद्ध पाटन उच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। छनोट उपसमितिमाथि वैधानिकताको प्रश्न उठाउँदै कुन्दन शर्मा मिश्रले मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन गैरकानुनी भएको भन्दै कार्यकारी प्रमुख छनोट उपसमितिविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। मिलन देवकोटा र मदन आचार्यको मनोनयन वैधानिक नभएको भन्दै बोर्डकै कर्मचारीले मुद्दा हालेपछि अदालतले प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अदालतले अल्पकालीन अन्तरिम आदेश दिनु अगाडि नै बोर्डको कार्यकारीका लागि पूर्व सिइओ रेग्मीसहित २० जनाको आवेदन परिसकेको थियो। यस्तै छनौट उपसमितिले ‘सर्ट लिष्ट’मा अन्तिम १६ जना छानिसकेको थियो।

उच्च अदालत पाटनले केही हप्ता अघि मिलन देवकोटा र मदन आचार्य दुवैको नियुक्तिमा परेको रिट निवेदन खारेज गरिदिएपछि बोर्डमा सिइओ नियुक्ति प्रक्रिया अगाडि बढाउन नौ महिनाभन्दा बढी समय लागेको हो। सिइओ छनौट हुन नसक्दा बोर्डको वार्षिक बजेट, कार्यक्रम तथा दैनिक कार्य सञ्चालनमा समेत प्रभावित भएको छ। आर्थिक वर्ष सुरु भएको महिना दिन बितिसक्दा समेत बोर्डको बजेट र कार्यक्रम पारित हुन नसकेको अवस्थामा सिइओ नियुक्ति अहिलेको लागि सबैभन्दा ठूलो उपलब्धि हुने बोर्डले बताएको छ।

नेपाल पर्यटन बोर्ड ऐन र पर्यटन बोर्ड नियमावली अनुसार बोर्डको कार्यकारी समितिले सो संस्थाको कार्यकारी प्रमुखकोे चयन गर्छ। जसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष मनोनित सदस्यहरूमध्ये बोर्ड सदस्यहरूले छानेका सदस्यमध्ये एक उपाध्यक्ष, अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन विभागको महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशक, नेपाल सरकारले मनोनित गरेको कम्तिमा राजपत्र प्रथम श्रेणीको अधिकृत एकजना गरी सरकारी संयन्त्रतर्फ पाँच जना कार्यकारी समितिमा रहने व्यवस्था छ।

यस्तै बाँकी पाँच जना निजी क्षेत्रबाट मनोनयन हुन्छन्। कानुन अनुसार निजी क्षेत्रबाट मनोनयन हुने पाँच जना सदस्यहरू पर्यटन प्रवद्र्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरूमध्येबाट हुनुपर्ने व्यवस्था छ। जसलाई सरकाले छनोट गरी मनोनयन गर्छ र कार्यकारी समितिमा रहेका यिनै सदस्यद्वारा गठित उपसमितिले प्रमुख कार्यकारी छनोट गरी सिफारिस गर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर