मधेसका मुख्यमन्त्री सिंहसँग असन्तुष्ट सीके राउतले साेधे स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पार्टी प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिएका छन् । 

मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नै नगरी सत्ता साझेदार दलसँग मन्त्रालय बाँडफाँट गरेको बताउँदै प्रवक्ता यादवले भने, ‘यो विषयमा पार्टीको ध्यानाकर्षण भएपछि स्पष्टीकरण सोधिएको छ ।’ पार्टीले परिणाम देखिने गरी जनताको हकहितमा काम गर्न मन्त्रीहरूलाई ध्यानाकर्षण गराए पनि कामभन्दा  अनावश्यक उद्घाटन गर्दै समय खर्चिएको देखिएको पनि उनले बताएका छन् । ‘पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पुर्‍याएको भन्ने पनि कुरा आएको छ,’ यादवले भने, ‘यी विषय पनि स्पष्टीकरणमा समेटिएका छन् ।’

मधेसका मुख्यमन्त्री सिंह जनमत पार्टी अध्यक्ष सीके राउतकै रोजाइका पात्र हुन् । जनमतले सरकारको नेतृत्व गर्ने सहमति हुँदै गर्दा संसदीय दलका नेता महेशप्रसाद यादवलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । तर जनमतले दल नेता यादवको साटो सांसद सतिश सिंहको नाम अगाडि सारेका थियो । जनमतका नेताहरूका अनुसार मुख्यमन्त्रीबारे केन्द्रीय सचिवालयमा पटक–पटक छलफल भएको थियो ।

अरू पनि आकांक्षी भएकाले मुख्यमन्त्रीको उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष सीके राउतलाई दिइयो । यद्यपि संसदीय दलका दलका नेता महेशकुमार यादव बुधबार साँझसम्म मुख्यमन्त्री बन्नेमा करिब–करिब ढुक्क थिए ।अमेरिका भ्रमणमा रहेका अध्यक्ष सीके राउतसँग सकारात्मक कुराकानी भएकै थियो । तर राउतले उनको साटो सतिशलाई रोजे । जसका कारण अहिले उनी मुख्यमन्त्रीको कुर्सीमा छन् । तर पछिल्लो समय मधेस सरकारको नेतृत्व गरिरहेका सिंहबाट भएका कमजोरीका कारण पार्टी अध्यक्ष राउत नै असन्तुष्ट रहेको स्रोत बताउँछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर