लुम्बिनीका मुख्यमन्त्रीलाई दुईतिहाइभन्दा बढी मत 

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा  मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो ।

प्रदेशसभामा कायम रहेका ८७ सदस्यमध्ये मुख्यमन्त्री आचार्यले पेस गरेको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनको विपक्षमा ११ जनाले मतदान गरे । प्रदेशसभामा उपसभामुख मेनुका खाँड केसीसहित ४ जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो ।

८७ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए । अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये ७ दलका सांसदले आचार्यलाई विश्वासको मत दिएका छन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिएका थिए ।

केन्द्रमा भएको सत्ता समीकरण अनुसार एमालेका २९, कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३/३, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका २, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका १ र स्वतन्त्र खड्ग बस्नेत गरी ७० जना सांसदले आचार्यको पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ गरी ११ जना सांसदले विपक्षमा मतदान गरे । माओवादीबाट सभामुख तुलाराम घर्ती मगर छन् ।

अर्घाखाँची १ (१) बाट निर्वाचित आचार्य साउन ७ मा कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर