जनगायक खुसिराम पाख्रिनलाई मरणोपरान्त १ लाखको जेवि टुहुरे स्मृति पुरस्कार

काठमाडौं । वरिष्ठ जनगायक खुसिराम पाख्रिनलाई मरोणापरान्त जेवि टुहुरे स्मृति पुरस्कार प्रदान गरिएको छ। जेबी टुहुरे फाउण्डेसनद्वारा हरेक वर्ष श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत प्रदान गरिने सो पुरस्कार यस वर्ष गायक पाख्रिनलाई प्रदान गरिएको हो।

टुहुरेको तेस्रो स्मृति दिवसको सन्दर्भमा सोमवार आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मरणोपरान्त सम्मान तथा रु १ लाख राशीको पुरस्कार पाख्रिनकी श्रीमती सुकमाया पाख्रिनलाई  प्रदान गरेका थिए। स्वर्गीय पाख्रिन संविधानसभा सदस्य पनि हुन्।

पुरस्कार वितरण समारोहमा पुर्व प्रधानमन्त्री दाहालले वरिष्ठ गायक जेवि टुहुरे र खुसिराम पाख्रिन दुवैले नेपाली समाजको रुपान्तरणमा अतुलनीय भुमिका निर्वाह गरेको स्मरण गरे। कार्यक्रममा एमाले उपाध्यक्ष गुरु वरालले जेवि टुहुरे र खुसिराम पाख्रिन जनवादी गीत सङ्गितमा एकै सिक्काको दुई पाटा भएको वताए।

२०३८ सालदेखि जनपक्षीय  गीत गाउन थालेका गायक पाख्रिनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा स्वर दिएका छन्।  पाख्रिनका 'सगरमाथाको काखमा नेपाल देश छ’ , ' उठ जाग युवाहरू’ , 'लाल झुपडीका मान्छेहरु' जस्ता गीतहरु चर्चित छन्।

ईश्वरचन्द्र  ज्ञवाली संयोजकत्वको गठित तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनको नाम चयन गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् । जेबी टुहुरे प्रतिष्ठानले २०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरुलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ ।

२०७९ सालमा धरानमा आयोजित पहिलो जेबी टुहुरे स्मृति स्रष्टा सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई सम्मान गरिएको थियो । यसैगरी २०८० सालमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेल र २०८१ सालको सम्मान भने पाख्रिनलाई प्रदान गरिएको हो।

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उनले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्वपुर्ण योगदान गरेका थिए । उनको योगदानको कदर गर्दै २०८० भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर