आज तीजको दर खाने अन्तिम दिन

महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ। भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरूले दर खाने परम्परा छ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। आजको दिन विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ। यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ।

दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ।

भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाइ व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन्। साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवति, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर