सरकार छोडेको एक महिनापछि बल्ल माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

विराटनगर । कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस आज (शुक्रबार) देखि सत्तापक्षमा र नेकपा माओवादी केन्द्र विपक्षमा बस्ने भएका छन् ।  प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार कांग्रेसले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ ।

त्यस्तै, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको पराजुलीले जानकारी दिए । केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए । यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखेर समर्थन फिर्ता लिएको हो ।

नेपालको सविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २७ मा मुख्यमन्त्री बन्दा कार्कीलाई माओवादी सांसदहरूले समर्थन गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । 

१३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिएकै दिन सरकारलाई २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको हो । एमालेसँग ४० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । असार ८ मा बसेर अनिश्चितकालीन स्थगनमा रहेको कोशी प्रदेश सभा बैठक शुक्रबार बस्दैछ । 

सरकारलाई समर्थन गरेर शुक्रबारदेखि सत्तापक्षमा बस्ने निर्णय लिएको कांग्रेसले कोशीमा मन्त्री पठाउन भने अझै सकेको छैन । सभापति शेरबहादुर देउवा, संस्थापनइतर पक्षका नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षबीच आन्तरिक भागबन्डाको किचलो नमिल्दा मन्त्रीको नाम छान्ने एक महिनाभन्दा लामो प्रयास सफल हुन सकिरहेको छैन । 

कोशीमा देउवा पक्षबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम लगायतका सांसद मन्त्री हुने दौडमा छन् । शेखर कोइराला पक्षबाट इन्दिरा थापा, गोविन्द गिरी , मानबहादुर लिम्बू, रामकुमार खत्री यो दौडमा सामेल हुँदा सिटौला पक्षबाट भीम पराजुली र भुपेन्द्र राई मन्त्री बन्ने लबिङमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर