किन भैरहेछ शेयर बजारमा अर्थमन्त्रीको अस्वभाविक हस्तक्षेप ?

काठमाडौं । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल अचानक नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगे । नेप्से पुगेर उनले प्रश्न गरे, अर्थतन्त्रका सबै सूचक सकारात्मक छन् । तर, बजार किन घट्यो ? पछिल्लो समय राजनीतिक घटना क्रम पनि ठीकै छ । बैंकहरुले ब्याजदर घटाएर सिंगल डिजिटमा ल्याएका छन् । तर, ३ हजार अंकबाट घटेर परिसूचक २५०० मा किन झर्‍यो रु ३० अर्बको कारोबार रकम घटेर ८ अर्बमा किन आयो ? यो प्रश्न म मन्त्रालयका सचिव, नेप्सेका कर्मचारीकोसँग सोध्न चाहन्छु ।

नेप्सेका कर्मचारीसँग कुराकानी गर्दै उनले केही सुझाव अनि निर्देशन पनि दिए । उनले अवाञ्छनीय तरिकाले पूँजी बजारलाई प्रभावित पार्ने प्रवृतिलाई नियन्त्रण गर्न नेप्सेलाई निर्देशन दिए । उसो त उनले बजारलाई प्रतिकूल असर पर्ने गरी हुने भित्री कारोबार जस्ता गतिविधिलाई अनदेखा नगर्न पनि निर्देशन दिए । यस्ता गतिविधिलाई सूक्ष्म रुपमा नियाल्न र पर्दापछाडि बसेर गरिने गतिविधिलाई रोक्न नेप्सेका कर्मचारीलाई निर्देशन दिए । 

मन्त्री पौडेलले सरोकारवालाहरुसँग छलफल गरी सुझाव लिन समेत नेप्सेका कर्मचारीलाई सुझाव दिए । निश्चित समय सीमा तोकी काम गर्न, कारोबारको गोपनीयता कायम राख्न, लगानीकर्ताको लगानी सुरक्षित गर्न, लगानीकर्ताको विश्वास जित्न, गुणस्तरीय सेवा प्रवाह गर्न र गुणस्तरीय सेवा प्रदान गरी बजारलाई दिगो बनाउन सुझाव दिए । 

बजार बढाउन अर्थमन्त्रीको अप्रत्यक्ष दबाब


अर्थमन्त्री विष्णु प्रसाद पौडेल शेयर बजारका लागि ‘लक्की’ मानिन्छन् ।  पौडेल अर्थमन्त्री हुनेबित्तिकै बजार बढ्नुले पनि उनी बजारका लागि ‘लक्की’ मानिएका छन् । 

गत असार १६ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि नयाँ गठबन्धन बन्ने सहमति भएसँगै बजार बढ्न थालेको थियो । सरकार परिवर्तन भएमा पौडेल अर्थमन्त्री बन्ने हल्ला चलिसकेको थियो,  त्यही हल्लाले बजारमा प्रभाव देखिएको थियो । सोही मनोविज्ञान अनुसार असार १७ गते १६ अंकले बढेर बजार २०५३.३८ विन्दुमा पुग्यो । बजार गत साउन ३१ गतेसम्म बढी रह्यो । सो दिन ४३ अंकले बढेर बजार ३०००.८१ विन्दुमा पुग्यो । उक्त अवधिमा बजार ९४७.४३ अंकले बढ्यो। एक्कासि बढेको बजार गत भदौ १ गतेदेखि भने घट्न थाल्यो  । त्यसपछिबजार निरन्तर रुपमा घटेर २५७६ मा विन्दुमा झरेको छ । एक महिनाको अवधिमा बजार ४२५.५ अंकले घटेको छ । 

तर, बजारको आफ्नै गति हुन्छ । बजार बढेपछि घट्नु र घटेपछि फेरी बढ्नु नै यसको विशेषता हो । कुनै व्यक्ति वा संस्थाले बजार बढाउन सक्दैन । यद्यपि मन्त्री आफैँ नेप्से पुगेर बजार किन घट्यो भनेर प्रश्न गर्नु अस्वभाविक भएको एक लगानीकर्ताले बताए । अर्थमन्त्री नेप्सेमा नै पुगेर बजारको विषयमा प्रतिक्रिया दिनु उचित नभएको उनले बताए । ‘बजारको बिषयमा मन्त्रीले चासो लिनु राम्रो हो । यसका लागि सेबोन वा अन्य सरोकारवालाई बोलाएर छलफल गर्न सकिन्छ । तर, मन्त्री आफैँ नेप्सेमा पुगेर प्रतिक्रिया दिनु भनेको पदीय हैसियतले पनि सुहाउँदैन,’ उनले भने । 

शेयर बजार पूँजी बजारमा अति नै संवेदनशील मानिन्छ । राजनीतिक घटना क्रम, अर्थतन्त्रका परिसूचक, सूचनाको पहुँच जस्ता गतिविधिले लगानीकर्ताको मानसिकता तयार पार्छ । त्यसैले बजारका बिषयमा प्रत्यक्ष रुपमा प्रतिक्रिया दिन नहुने लगानीकर्ताहरु बताउँछन् । 

शेयर बजार नेप्सेले बढाउने हैन । त्यसैले कर्मचारीलाई बजार किन बढेन भनेर प्रश्न गर्नु अस्वभाविक भएको शेयर लगानीकर्ता रमेश भट्टराइले बताए । वित्तीय क्षेत्रका जानकार समेत रहेका भट्टराईले मन्त्रीको प्रतिक्रियाले बजारलाई नकरात्मक असर पुग्न सक्ने बताए । ‘मन्त्री नै नेप्सेमा पुगेर निर्देशन दिएपछि केही व्यक्तिले त्यसको फाइदा लिने छन् । मन्त्री बजार पुगे अब बजार बढ्छ भन्ने हल्ला फिजाइनेछ । जुन गलत हो,’ उनले भने ‘बजारलाई दिगो बनाउनका लागि मन्त्रीले नीतिगत सुधार गर्ने हो । नेप्सेमा गएर हस्तक्षेप गर्ने हैन ।’  

बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । नेपालको अर्थतन्त्रको सुधार नहुँदै यसअघि बजार बढेको थियो । फलस्वरुप सोही गतिमा घट्यो । अर्थात् बजारले वास्तविक रुप लियो । त्यसैले अहिलेको बजारको गतिलाई स्वभाविक लिनुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘कसैले बढाऊ वा घटाऊ भनेर बजार घट्ने बढ्ने हैन,’ उनले भने ‘अर्थमन्त्रीले नेप्सेको अवलोकन गर्न नै नहुने भन्ने चाहिँ हैन । तर, किन घट्यो भनेर कर्मचारीलाई प्रश्न गर्नु जायज भएन कि १’ उनले भने । 

अर्थमन्त्रीले बजार किन घट्यो र बढ्यो भनेर प्रश्न गर्नु भनेको अप्रत्यक्ष रुपमा बजारलाई प्रभावित पार्न खोजेको एक अर्का लगानीकर्ताले बताए । ‘बुधबार अर्थमन्त्री नेप्से गएर दिएको प्रतिक्रियाले बजार बढाउनका लागि मन्त्री आफैँले प्रेसर दिएको बुझिन्छ,’ उनले भने । 

प्रतिनिधिसभा सदस्य समेत रहेका शेयर लगानीकर्ता हरि ढकाल अर्थमन्त्रीले बजारको विषयमा चासो राख्नु स्वभाविक भए पनि मन्त्रीकै कारण बजार घट्ने वा बढ्ने भन्ने नहुने बताउँछन् । ‘बजार एक्कासि घट्यो । तर, यसको घट्नुको कारण के हो भनेर मन्त्रीले खोज्नु पर्थ्यो । बजारको नियामक निकाय १० महिनादेखि खाली छ । त्यसमा ध्यान दिनुपर्थ्यो,’ उनले भने । आफूहरूले मन्त्रीलाई भेटेर बजारलाई दिगो बनाउनका लागि सुधार गर्नुपर्ने रचनात्मक बूँदाहरु पेश गरेको उनले बताए । ती विषयमा छलफल गरिनुपर्थ्यो । तर, मन्त्री भने नेप्सेमा गएर समाधान खोज्नु भएछ, उनले भने । यो अस्वभाविक भएको उनको भनाइ छ । ‘बजारलाई दिगो बनाउनका लागि मन्त्रीले दिन खालका योजना बनाउनुपर्छ । दिर्घकालीन, मध्यकालीन र तत्काल गर्नुपर्ने सुधार कामहरुको योजना नै बनाएर अगाडी बढ्नुपर्छ,’ उनले भने  । 

यतिबेला धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन छन् । राजनीतिक स्वार्थका कारण विगत नौ महिनादेखि सेबोन अध्यक्षविहीन छ । अध्यक्ष नहुँदा सेबोनको काम कारवाही प्रभावित भएको छ । कम्पनीहरुको आइपिओ तथा हकप्रद शेयरहरु जारी हुन पाएका छैनन् । 

त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) प्रमुख कार्यकारी अधिकृतको पद पनि रिक्त छ ।  भदौको पहिलो सातादेखि सिडिएसी नेतृत्वविहीन बनेको हो । सिडिएसीका प्रमुख पुण्यप्रसाद आचार्यको कार्यकाल सकिएपछि सरकारले अहिलेसम्म नयाँ नियुक्त गरेको छैन । कञ्चन सापकोटालाई सिडिएससीको कार्यवाहक तोकिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर