गोली हानेर श्रीमतीको हत्या

जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ । अर्का एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए । 

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भए । 

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन् । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । 

उनका अनुसार घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद भएको छ ।  

स्थानीयका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरमा नबस्ने गरेको बुझिएको छ । 

बुधवार राति भने एक्कासि हतियारसहित घरमा आएर श्रीमती र बुवामाथि गोली प्रहार गरेका हुन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर