उनीहरू बोल्दैनन् 

कुमार दाहाल

खसी, कुकुर, बिरालोको भाषा बुझिँदैन
भाषा विहीन कोही छैनन् ,
हामी पनि चाइनिज अङ्ग्रेजी रसियन भाषा बुझ्दैनौँ।
मान्छेहरू बोल्छन् र बलि दिन्छन् ,
उनीहरु बोल्दैनन्।

उनीहरू मृत्यु थाहा पाउँदैनन् ,
पीडा अनुहारमा देखाउन जान्दैनन् ,
आँखाबाट बोल्ने कोही पाउँदैनन्,
बलि चढेको पनि थाहा पाउँदैनन् ,
उनीहरू बोल्दैनन्।

उनीहरू संवादविहीन छैनन् ,
पीडाविहीन पनि छैनन् ,
उनीहरू खाना खान खोज्छन्,
आश्रय खोज्छन् ,
र बलि बन्छन्। 
उनीहरूको बारेमा धर्म छ ,
शास्त्र छ, विज्ञान छ। 
मान्छेको जस्तै इतिहास छ ,
उनीहरू मान्छेका सारथी हुन् ,
र बलि बन्छन्।
कोही गीता पढेर बलि दिन्छन् ,
कोही बाइबल पढेर बलि दिन्छन् ,
कोही कुरान पढेर बलि दिन्छन् ,
बलि दिनेहरू सन्तुष्ट होलान् ,
तर उनीहरू बोल्दैनन्।

युद्धमा जाँदा बलि दिन्छन् ,
चाडपर्वमा बलि दिन्छन् ,
खुसी हुँदा बलि दिन्छन्, दुःखी हुँदा बलि दिन्छन्।
बलि दिने कुरा बाँकी राखेर बलि दिन्छन् ,
र उनीहरू बोल्दैनन्।

मान्छे बलि बनेको देख्दा पनि उनीहरू बोल्दैनन् ,
मान्छेको भोक उसलाई पनि थाहा छ। 
तर, उनीहरू बोल्दैनन्।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर