बैंकहरूले फेरि घटाए ब्याजदर, कति पुग्याे ?

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाएका छन् । कात्तिकका लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि स्वतः घटेको हो । निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले आफूहरूसँग लगानीयोग्य रकम (तरलता) धेरै थुप्रिएको भन्दै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर फेरि घटाएका हुन् ।

निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको खर्च (लागत) घट्ने भएकाले आधार दर पनि घट्छ । आधार दर घटेपछि ऋणको ब्याजदर पनि घटाउन दबाब परेको हो ।

वाणिज्य बैंकहरूले बुधबार प्रकाशन गरेको कात्तिकको ब्याजदर सूचीअनुसार असोजको तुलनामा कात्तिकमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत बिन्दुले घटेको छ । असोजमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत थियो । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । ८ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर पनि औसतमा असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो । ब्याजदर निरन्तर घटिरहँदा निक्षेपकर्ता भने मर्कामा परेका छन् । कात्तिकका लागि बैंकहरूमा साधारण बचतको ब्याजदर न्यूनतम ३ र अधिकतम साढे ४ प्रतिशतसम्म छ ।

निक्षेपको ब्याजदर घटेपछि ऋणको पनि निरन्तर घटिरहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार गत भदौमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशत छ । जबकि ०८० भदौमा यस्तो ब्याजदर र १२.२३ प्रतिशत थियो ।

गत असारदेखि ऋणको ब्याजदर पनि एकल अंकमा झरेको छ । गत असारमा बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत थियो । यो पछिल्लो ३२ महिनायताकै कम हो । ०७८ माघमा वाणिज्य बैंकहरूको यस्तो ब्याजदर ९.४४ प्रतिशत थियो । त्यसयता कर्जाको ब्याजदर निरन्तर बढेर ०७९ फागुनमा सबैभन्दा धेरै औसत १३.०३ प्रतिशत पुगेको थियो । त्यसपछि कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । यस्तै, गत भदौमा विकास बैंकहरूमा ऋणको औसत ब्याजदर १०.८९ र फाइनान्स कम्पनीको १२.१४ प्रतिशत छ । ०८० भदौमा यस्तो ब्याजदर क्रमशः १३.९९ र १४.६८ प्रतिशत थियो ।

गत साउन र भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले मात्र बढेको छ । यद्यपी गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) मा सीमित थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।

गएको दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.८ प्रतिशतले बढेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर