सुनको भाउले फेरि बनायो कीर्तिमान, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रबार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (आइतबार) ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । सुनको भाउ शुक्रवार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो । यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । 

आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झण्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ ।गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । 

सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ ।

त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् । 

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर