चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० गैंडा मृत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता हालसम्म १० गैंडा मृत भेटिएका छन् । चितवन निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १ गतेयता मात्रै ४ वटा गैंडा मृत फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले मृत फेला परेकामध्ये सबै गैंडाको खाग र खुर भेटिएका कारण उनीहरुको मृत्यु चोरी सिकारीका कारण नभएको बताए । गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजीव हो । नेपालमा चितवनमा सवैभन्दा धेरै गैंडा पाइन्छ ।

चितवन निकुञ्जको पश्चिम क्षेत्र भिम्ले पोस्टनजिक पोकली घोलमा कात्तिक १३ गते मंगलबार बिहानपख गस्तीमा गएको निकुञ्ज र सेनाको संयुक्त टोलीले अन्दाजी २५ वर्षको मृत गैंडा भेटाएको थियो । उक्त पोथी गैंडा दलदलमा परेर मरेको सूचना अधिकारी अविनास थापा मगरले बताए ।

यसअघि कात्तिक ६ मा निकुञ्जको पश्चिम क्षेत्र मै पर्ने कलकत्ता टापुमा एउटा वयस्क गैंडा र उमेर यकिन हुन नसकेको गैंडाको एउटा बच्चा मृत फेला परेको पनि उनले बताए । ती गैंडा सडेगलेको अवस्थामा भेटिएका थिए ।

कात्तिक ५ मा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–१२ दाउन्नेदेवि मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको अरुणखोलाको पश्चिम किनारमा अन्दाजी २० वर्षको पोथी गैंडा मृत फेला परेको उनले जानकारी दिए । यी चारसमेत गरेर यो आर्थिक वर्षको साउनयता हालसम्म १० गैंडा मृत भेटिएको उनले बताए ।

 दुर्लभ वन्यजन्तु गैंडा जोगाउन चोरी सिकारी ठूलो चुनौती बन्ने गरेको छ । पछिल्ला वर्षहरूमा चोरी सिकार भने नियन्त्रणमा आएको छ । तर गत वर्ष मात्रै दसैं तिहारको समय पारेर तस्करहरूले खाल्डोमा पारेर मारेका र खाग पनि लगेका दुईवटा गैंडा मृत फेला परेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर