मोरङ ग्रामथानमा माओवादीका उम्मेदवार नवोनारायण, एमालेलाई छान्नै सकस

विराटनगर । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन्। नेकपा एमालेलाई भने अकांक्षीहरू धेरै हुँदा छान्न नै सकस परिरहेको छ। 

नेपाली कांग्रेसले बलराम सरदारलाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेको हो। बिहीबार बसेको कांग्रेसको मोरङ जिल्ला कार्यसमितिले आकांक्षी १३ जनामध्ये सरदारलाई उम्मेदवार बनाउने निर्णय लिएको मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रले नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। माझी २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिका वडा नं १ को  वडाध्यक्षमा निर्वाचित भएका थिए।

नेकपा एमालेले भने उम्मेदवारकाे टुंगाे लगाउन अझै सकेकाे छैन । अध्यक्षका लागि ११ जना आकांक्षी देखिएपछि पालिकाले उनीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो। 

जिल्लाले पनि नाम टुंग्याउन नसकेर ११ जनाकै नाम सुझाव सहित प्रदेश कमिटीमा पठाएको थियो। प्रदेशमा पनि नाम नटुंगिएपछि केन्द्रीय कमिटीमा नाम पुगेको जिल्ला अध्यक्ष बाबुराम कार्कीले बताए।  

अध्यक्षका लागि एमालेमा पूर्व अध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आस नारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठले दाबी गरेका हुन्।

कांग्रेस, एमाले र माओवादी केन्द्र यसअघिका मुख्यप्रतिस्पर्धी थिए।  

२०७९ को स्थानीय चुनावमा कांग्रेसका थारुले ७६०५ मत ल्याएर जितेका थिए। दोस्रो भएको एमालेका शिव नारायण माझी थारुले ६०९३ पाएका थिए। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार विजय कुमार सरदारले २७२७ मत ल्याएका थिए।  

ग्रामथानमै पुगेकी केहीसमय अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराउँदै सुशासन र समृद्दिकाे पक्षमा रहेका माओवादी बलियाे भएकाे बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर