महिनामै साढे १ खर्ब भित्रियो रेमिट्यान्स
काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्सले गत असोजमा नयाँ रेकर्ड बनाएको छ । असोजमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजमा एकै महिना १ खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा नेपाल आएको रेमिट्यान्सको तथ्यांकमा यो हालसम्मकै उच्च हो ।
यसअघि ०८० असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरको भाउ वृद्धि, वैदेशिक रोजगारका लागि बिदेसिने नेपालीको संख्या वृद्धि र विश्व अर्थतन्त्र सुधारोन्मुख रहेकाले नेपालीको आम्दानी बढेका कारण रेमिट्यान्समा बढोत्तरी देखिएको जानकार बताउँछन् ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोजसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो । राष्ट्र बैंकका अनुसार पछिल्लो १७ महिना यता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।
सोही क्रममा गत असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको हो । रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने शोधनान्तर बचत र चालु खाता बचत पनि थुपि्रँदै गएको छ । विदेशी मुद्राका अन्य स्रोतहरू निर्यात, पर्यटन, विदेशी लगानी, वैदेशिक सहायतालगायत सूचकको अवस्था निराशाजनक छ ।
प्रतिकृया दिनुहोस