सरकारको असक्षमताः किसानले खोजेकै बेला मलको हाहाकार

काठमाडौं । तराई–मधेसमा हिउँदे बाली लगाउने बेला किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन् । मल नपाएकै कारण धेरै किसानले गहुँ, चना, मसुरो, तोरीलगायतका हिउँदे बाली लगाउन पाएका छैनन् । कतिपयले भने मल पाए पनि महँगोमा खरिद गर्नुपरेको छ । 

बाराको कलैया–१६, उत्तर झिटकैंयाका जगरनाथ मण्डलले किलोमा २० रुपैयाँ बढी तिरेर डीएपी मल खरिद गरेको सुनाए । उत्तर झिटकैंयाकै भिरिखन मण्डलले पनि २० रुपैयाँ बढी तिरेर डीएपी मल किनेका छन् । ‘चाहिएको बेला सहकारीमा मल पाइँदैन, सरकारले पनि हाम्रो गुनासो सुन्दैन,’ उनले भने, ‘खेतमा गहुँ छर्न ढिला भइसक्यो । प्रतिकिलो ५० रुपैयाँ पर्ने मल ७० रुपैयाँमा किनेँ ।’

उनीहरूले सरकारी अनुदानको मल पसलबाटै महँगोमा किसानले मल किनेका हुन् । पर्साको कालिकामाईका पृथ्वी साहका अनुसार स्थानीय दिव्य बचत तथा सहकारी संस्थाले कोटाको ६० बोरा डीएपी मल ल्याउँदा पनि अधिकांश किसानले डीएपी मल पाउन नसकेको बताए । ‘मल नपाउँदा कतिपय किसानले गहुँ छर्न पाएका छैनन्,’ उनले भने, ‘भारतीय बजारबाट डीएपी ल्याउनुपर्ने बाध्यता छ ।’

पर्सा जगरनाथपुरका सहरूम राउतले मल आपूर्तिको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै मल वितरण नगर्दा हाहाकार भएको बताए । ‘सहकारीले पनि नातागोता र निकटका किसानलाई हेरेर वितरण गर्छन्,’ उनले भने, ‘भारु ३ हजारमा ४५ किलो डीएपी खरिद गर्नुपर्ने बाध्यता छ ।’

नेपाल किसान संघ पर्साका पूर्वअध्यक्ष असर्फी साहले डीएपी मलको हाहाकार भएको बताए । ‘मल अभावका कारण गहुँ छर्न ढिला भइरहेको छ,’ उनले भने, ‘सबै किसानले भारत गएर मल खरिद गर्न सक्दैनन् । सरकारले सहजै मल उपलब्ध गराउनुपर्छ ।’ किसानले मंसिरभित्र हिउँदेबाली लगाइसक्नुपर्छ । गहुँमा ३ पटक मल हाल्ने गरिन्छ । गहुँ छर्दा नै डीएपी हाल्ने गरिन्छ । त्यसपछि २१ देखि २९ र ४५ देखि ६० दिनभित्र युरिया छर्नुपर्ने किसानहरू बताउँछन् ।

कृषि सामग्रीको प्रादेशिक कार्यालय वीरगन्जका अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात सकिएपछि ‘बफर स्टक’ बाट समेत डीएपी वितरण भइरहेको छ । 

रूपन्देहीको मर्चवारी गाउँपालिका–२ अमवाका शैलेन्द्र पाण्डेले ४ बिघा खेतमा गहुँ छर्ने तयारी गरेकामा युरिया र डीएपी दुवै मल नपाएको बताए । ‘धान काटेदेखि मल मागिरहेको छु, पाएकै छैन । अनुदानको मल भन्दै थोरै ल्याउँछन्, संस्थाले ४० जना जतिलाई किलोका आधारमा दिँदा सकिन्छ, हामीले पाएनौं,’ उनले भने । गैडहवा गाउँपालिका–५, ठूलो गिधैयाँका सन्तु धवलले पनि मल नपाएका कारण गहुँ छरेका छैनन् । ‘१२ कठ्ठा खेत बाँझै राखेर मल पर्खिरहेको छु, पारिबाट ल्याउँदा पुलिसले समात्छ,’ उनले भने, ‘छिमेकीहरूले भारतीय बजारबाट २० किलोको ८ सय रुपैयाँ पर्ने मल किनेर गहुँ छरिसके ।’

कपिलवस्तुको शुद्धोधन, पतरियाका रामशंकर थारूले डीएपी मलबिनै एक बिघामा गहुँ छरेका छन् । ‘धान पनि राम्रो भएन । मल अभावले गहुँ पनि भने जति छर्न पाइएन,’ उनले भने । महाराजगन्ज, हदौनाका सत्यदेव चौधरी पनि गहुँमा डीएपी मल छर्न नपाएर चिन्तित छन् । उनले भने, ‘गहुँ छरेको दुई साता हुन लाग्यो, मल पाएको छैन ।’

गहुँका लागि मात्र कृषि सामग्रीको तौलिहवा शाखालाई २ हजार मेट्रिक टन युरिया र १ हजार ५ सय मेट्रिक टन डीएपी चाहिन्छ । यस्तै, बहादुरगन्ज शाखालाई १ हजार मेट्रिक टन युरिया र ५ सय मेट्रिक टन डीएपी चाहिन्छ । तर तौलिहवा शाखामा गहुँका लागि युरिया ४ सय ४७ मेट्रिक टन र डीएपी ३ सय ७३ मेट्रिक टन मात्र आएको थियो । त्यति मल सहकारीले वितरणका लागि लिएर गएका थिए । बहादुरगन्ज शाखामा गहुँका लागि २ सय ९६ मेट्रिक टन डीएपी आएकामा सबै वितरण भइसक्यो । ३ सय ५० मेट्रिक टन युरिया वितरणको प्रक्रियामा छ ।

बाँकेको जानकी–३ रमुवापुरका दीनानाथ बर्माले गहुँ छर्न जमिन ठिक्क पारेका छन् तर मल नपाउँदा हैरान छन् । यस्तै समस्या त्यही वडाका रमेश तेलीको पनि छ । ‘समयमै मल पाएको भए अहिले गहुँ छरिसक्थ्यौं । अहिले पनि मल खोज्न हिँड्नुपरेको छ,’ उनले भने ।

कृषि सामग्री कम्पनी नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले मौज्दात अत्यन्तै न्यून भएका कारण किसानलाई पुर्‍याउन नसकिएको बताए । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर