तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु
जनकपुरधाम । सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
नेपाल-भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको किचेर हत्या गरेको प्रहरीको भनाइ छ ।
सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी नेपालबाट भारततर्फ उक्त स्कोरपियो जिपमा मदिरा गइरहेको छ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए ।
सोही जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
यादव सिरहाकै नरहा गाउँपालिका-४ ललभितियाका बासिन्दा हुन् ।
प्रहरी फरक-फरक स्थानमा खटिएकाले अन्य प्रहरीले टाढाबाट गाडी देखे पनि गाडीको नम्बर भने पहिचान गर्न नसकेको डीएसपी पासवानले जनाए ।
उक्त गाडीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस