कुलमान नभएका बेला मन्त्री खड्काले बनाए विद्युत प्राधिकरणमा कार्यकक्ष

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्ला बाहिर गएका बेला त्यहाँ रातारात आफ्नो कार्यकक्ष बनाउन लगाएका छन्।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा खड्का र घिसिङबीच असहमझदारी बढेको छ । यही बेला मन्त्रीले रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा रातारात आफ्नो कार्यकक्ष बनाउन लगाएका हुन् । 

रङ समेत नसुकेको कार्यकक्षमा बुधबार सचिवसहित पुगेका खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवाललगायत कर्मचारीले स्वागत गरेका छन् ।

रङ समेत नसुकेको कार्यकक्षमा आउनु भयो नि भन्ने प्रश्नमा मन्त्री खड्काले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो ।’ 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माणस्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका हुन् ।

प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्ने खोजेको प्राधिकरणका अधिकारी बताउँछन् । 

मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन् । त्यसयता लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ । हाल प्राधिकरणले काटेको बिल टीडीएअनुसार भए नभएको अध्ययन गर्न मन्त्रालयले समिति बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर