सुरुङ युगको चारणमा नेपाल: कति बने, कहाँ-कहाँ बन्दैछन् ?
काठमाडौं । आर्थिक विकासमा पूर्वाधारसँगै पछिल्लो समय सुरुङमार्गको महत्त्व बढ्दै गइरहेको छ । सुरुङमार्ग भूमिगत संरचना हो । सडकमार्गको तुलनामा सुरुङमार्ग निर्माण गर्दा लागत कैयौं गुणा महँगो पर्छ । तर, नेपालजस्तो पहाडी मुलुकका लागि दीर्घकालीन दृष्टिले सुरुङमार्गको बहुआयामिक महत्त्व छ । सुरुङमार्गले एकठाउँ र अर्को ठाउँको दूरी निकै नै छोट्याउँछ ।
सुरुङ प्रविधिको सुरुवातको दृष्टिकोणले नेपाल विश्वमै अगाडि देखिन्छ। तर त्यसको आधुनिकीकरण र व्यवस्थापनमा भने धेरै पछाडि रहेको पाइन्छ। सरकारले केही वर्षयता सुरुङ निर्माणलाई उच्च प्राथमिकतामा राखी अध्ययनमा बजेट छुट्याउँदै आइरहेको छ ।
नेपालमा मानवनिर्मित सुरुङको इतिहास चारसय वर्षभन्दा पुरानो छ । मुलुकको पहाडी भेगमा सिँचाइका लागि कुलो निर्माण गर्ने क्रममा सुरुङ निर्माण भएको पाइन्छ ।
नेपाल टनेलिङ एशोसिएशनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो छ । यहाँ पहिलादेखि नै भूमिगत संरचना र सुरुङ निर्माण भएका थिए । तर, ती सुरुङमार्ग र भूमिगत संरचना व्यवस्थित र व्यावसायिक प्रकृतिका भने थिएनन् ।
मुस्ताङमा हाल पनि पुराना खालका संरचना देख्न सकिन्छ । ती संरचना विशेषगरी बसोबास र चिहानका लागि निर्माण गरिएको विश्वास गरिन्छ, जहाँ हजारौं गुफा र भूमिगत घरहरू रहेका छन् ।
यस्तै, ४ सय वर्षअघि नै पाल्पाको अर्गली सिँचाइ प्रयोजनका लागि पुरानो संरचनाको सुरुङ खनिएको पाइएको दाबी गरिन्छ । त्यो सिँचाइ अझै पनि प्रयोग भइरहेको बताइन्छ । राजनीतिक अस्थिरता र देशको कमजोर अर्थतन्त्रले सुरुङ प्रविधिलाई आत्मसात गर्न भने नेपाललाई निकै वर्ष लागेको मानिन्छ।
नेपाल टनेलिङ एशोसिएशनका अनुसार हालसम्म नेपालमा करिब ४१६ किलोमिटर सुरुङ बनिसकेको छ, जसमा ३५० किलोमिटर हाइड्रोपावर सुरुङ, २७ किमी खानेपानी वितरण सुरुङ, २५ किमी सिँचाइ सुरुङ, ११ किमी सडक सुरुङ, ५२२ मिटर ढल निकास सुरुङ, दुई किमी खानी सुरुङ र ०।३ किमी म्युजियम सुरुङ गरी जम्मा ९ किसिमका छन् । रेल सुरुङमार्गको निर्माण भने नेपालमा भएको छैन् ।
यस्तै, ३०० किमी हाइड्रोपावर सुरुङ, ३ किमी सिँचाइ सुरुङ र सडक १० किमी सडक सुरुङ गरी जम्मा ३१३ किमी हाल निर्माणाधीन चरणमा छन् ।
नेपालमा सुरुङको प्रयोग सबैभन्दा बढी जलविद्युत परियोजनामा भएको पाइन्छ ।
नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ भनेकै मेलम्ची खानेपानीको हो । सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २७ किमी सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आएको छ ।
हालसम्म खनिएको सुरुङमध्ये यो नै सबैभन्दा लामो सुरुङ हो । २०७४ को चैत २९ गते ब्रेक(थ्रु भएको यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो ।
यस्तै, नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यसमा अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन ९टीबीएम० प्रयोग भएको थियो । जसमार्फत् अपेक्षित समय अगावै सुरुङ छेड्ने काम सकिएको थियो । १२।२ किलोमिटरको यो सुरुङ मुख्य रूपमा सिँचाइका लागि प्रयोग गर्न बनाइएको थियो ।
यो सुरुङ खन्न २ वर्ष पनि लागेको थिएन । यो आयोजनामा समय कम किन कम लाग्यो रु भन्ने प्रश्न उठ्न सक्छ, यसको एक मात्र कारण हो( सुरुङ निमार्ण गर्दा अत्याधुनिक प्रविधिको टीबीएम प्रयोग गरिएको थियो । जसबाट गएको पानीबाट ४५ मेगावाट बिजुली पनि निकाल्ने योजना छ ।
बबई नदीको किनार हात्तीखालबाट चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेसम्म यो सुरुङ खनिएको हो । योसहित सिँचाइका लागि नेपालमा करिब २५ किलोमिटरभन्दा बढी सुरुङ खनिएको छ ।
यस्तै, हाल गौरवको आयोजनामा सूचीकृत सुनकोसी मरिण बहुउद्देश्य आयोजनामा टीबीएमको प्रयोग गरेर सुरुङ खन्ने काम पनि भइरहेको छ । मेलम्ची र भेरी(बबई आयोजनाको सुरुङमा खन्न लागेको समय फरक देखिनुको कारण थियो( पुरानो र नयाँ प्रविधिको प्रयोग ।
मेलम्चीको टलेन खन्न पुरानो विधि ड्रिल एन्ड ब्लास्ट अपनाइएको थियो । साथै विवादले पनि निर्माण सम्पन्नमा ढिलासुस्ती भएको थियो । तर, भेरी(बबई आयोजनामा भने विश्वका अन्य मुलुकमा प्रयोग हुँदै आइरहेको अत्याधुनिक खालको ९टीबीएम० मेसिन प्रयोग गरेर छोटो समयमै खन्ने काम भएको थियो ।
सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्य आयोजना पनि टीबीएम मेसिनको प्रयोग गरेर सुरुङ खन्ने काम भइसकेको छ । तर चाहेर पनि नेपालजस्तो भौगोलिक विविधताले भरिएको सबै ठाउँमा सुरुङ खन्नका लागि टीबीएम प्रयोग गर्न सकिँदैन ।
सामान्यतया टीबीएम मेसिनको लागत ४ अर्बभन्दा बढी पर्ने गर्छ । एकातर्फ सामान्यतया १० किलोमिटरभन्दा कम लम्बाईको सुरुङ खन्न उपयुक्त हुँदैन । यसका लागि ठाउँ पनि फराकिलो चाहिने गर्छ । अर्कोतर्फ यसको तौल ७० टनभन्दा बढी हुने भएकाले पनि अप्ठ्यारो भूगोलमा लैजान यातायातको समस्या हुने गर्छ ।
नेपालको पहिलो सडक सुरुङ नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउँदैछ । अर्कोतर्फ सिद्धबाबा सुरुङमार्ग निर्माणको काम भइरहेको छ । अझ भन्ने हो भने विदेशी ढल निकासका लगि पनि सुरुङमार्ग बनाउने कार्यले व्यापकता पाइरहेको छ । यस्तै, अर्कोतर्फ रेलमार्गमा पनि सुरुङमार्ग बनाउन थालिएको छ ।
खानी उत्खननका लागि पनि सुरुङमार्गको महत्त्व छ । यस्तै, नेपालमा प्राकृतिक खनिजजन्य पदार्थका खानीका लागि पनि सुरुङहरू खनिएका छन् । तर यी विभिन्न खानीमा अध्ययनका लागि खनिएका सुरुङहरूबारे विस्तृत अध्ययन हुन बाँकी नै छ ।
हाल विभिन्न जलविद्युत आयोजनाहरूमा दैनिक रूपमा सुरुङहरू बनाउने काम चलिरहेकै छ । अझ भन्ने हो भने नेपालमा छोटो समयमै सुरुङमार्ग डिजाइन तथा निर्माण गर्ने जनशक्ति र निर्माण कम्पनीहरू टनेल इन्जिनियरिङसम्बन्धी दक्ष जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्ने क्षमताको पनि विकास भइसकेको छ ।
यद्यपि ठूला(ठूला वैदेशिक लगानीका जलविद्युत बाहेकका आयोजनामा नेपाली टनेल इन्जिनियरले कुशलतापूर्वक काम गर्दै आइरहेका छन् । निर्माणाधीन ११४ वटा जलविद्युत आयोजनामध्ये प्रायस् सबै आयोजनामा नेपाली इन्जिनियर र कम्पनीहरूले नै सुरुङमार्ग निर्माण गर्दै आइरहेका छन् ।
हालसम्मको अवधिमा १६६ वटा जलविद्युत नियमित सञ्चालन भइरहेका छन् । यस्तै, १३६ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । जसमा ६४ वटा जलविद्युत आयोजनामा सुरुङमार्ग निर्माण गरिँदैछ । ३८ वटा ठूला जलविद्युत आयोजना निर्माणको चरणमा रहेका छन् । तीमध्ये ३७ वटा जलविद्युत आयोजनाले सुरुङ निर्माण गर्ने बताएका छन् ।
हाल नेपालमा रक एन्ड टनेल इन्जिनियरिङसम्बन्धित दक्ष जनशक्ति ३०० जना हाराहारी छन् । तीमध्ये १५० जना नेपाल टेनेलिङ एशोसिएशनमा पनि आजीवन सदस्य छन् । त्यसैगरी, पोखरामा नर्वेजियन युनिभर्सिटिको सहयोगमा रक एन्ड टनेल इन्जिनियरिङसम्बन्धि मास्टर्स कोर्स पनि सञ्चालनमा रहेको छ, जसबाट करिब ६० जना ग्राजुएट भइसकेका छन् ।
यस्तै, स्वीटजरल्यान्डका भूगर्भविद टोनी हेगनले ‘दि हिमालयन किङ्डम अफ नेपाल’ पुस्तकमा मकवानपुरको चुरियामाईमा रहेको सुरुङलाई एसियाकै पहिलो मानवनिर्मित हुन सक्ने दाबी गरेका छन् । चुरियामाईमा करिब ६०० मिटर लामो सुरुङ नेपाली डिजाइन लगानी र जनशक्तिबाटै निर्माण गरिएको थियो । चुरियामाई सुरुङमार्गको चौडाइ ९ फिट र उचाइ १० फिट रहेको थियो ।
निमार्णाधीन चरणमा रहेका दुई सुरुङमार्ग
नागढुङ्गा सुरुङमार्ग
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए । यो जापान सरकारको ऋण सहयोगमा बनिरहेको छ ।
जापान सरकारसँग करिब १६ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले यो सुरुङमार्ग निर्माणको काम अघि बढाएको थियो । यो परियोजनाअन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपैयाँ जति खर्च भइसकेको सडक विभागका उपआयोजना निर्देशक सञ्जय पन्थी बताउँछन् ।
निर्देशक पन्थीका अनुसार नागढुङ्गा सुरुङमार्गको ८४ प्रतिशत काम सकिएको छ । हाल ढलान, भेन्टीलेसन, टोल संकलन केन्द्र, अक्सिजनका भेन्टहरू, फायर एक्टिङ्गुइसर, कम्युनिकेसनलगायतको काम भइरहेको छ।
यसमा मुल सुरुङबाहेक सो सुरुङमार्गमा आपतकालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ पनि रहनेछ । २.६८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरूको व्यवस्था गर्ने जनाइएको छ । त्यहाँ पुल, कल्भर्ट र अन्य संरचना १२ वटा अनि दुवैतर्फ टोल स्थापना भइसकेका छन् ।
२४ घण्टा भेन्टिलेसन रहने भनिएको उक्त सुरुङमार्गमा आपतकालीन उद्धार प्रणाली पनि स्थापना गरिएको छ । उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने सडक विभागको प्रगति विवरणमा उल्लेख छ ।
यो सुरुङमार्ग साढे तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्यअनुसार काम भएको छैन । काम सम्पन्न गर्न अब बढीमा ५ महिना लाग्न सक्ने बताइएको छ ।
सिद्धबाबा सुरुङमार्ग
बुटवल-पाल्पा सडकखण्डअन्तर्गत पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ‘ग्लोबल टेण्डर’ को आह्वान गरिएको थियो । जसमा स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले यो सुरुङमार्गको ‘डीपीआर’ तयार गरेको थियो । उसले सिद्धार्थ राजमार्गको बर्तुङ(चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७ सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो ।
देशभरिका सुरुङमार्गमध्ये पाल्पाको सिद्धबाबा पहिलो प्राथमिकतामा रहेको छ । यो सुरुङमार्गको कुल १.२६ किलोमिटर लम्बाइ र साढे आठ मिटर चौडाइ हुनेछ । सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको थियो ।
सुरुङमार्गको निर्माण कार्य हाल २९ प्रतिशत सम्पन्न भइसकेको र बाँकी कार्य निर्माण चरणमै रहेको सडक विभागले जनाएको छ । यो सुरुङमार्ग २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसको लगानी ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय रहेको छ ।
सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम गरिरहेको छ ।
निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।
सम्भाव्यता अध्ययनमा परेका सुरुङमार्ग
काठमाडौं-कुलेखानी-भीमफेदी-हेटौंडा सुरुङमार्ग
नेपाल सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच ‘पीपीपी’९सार्वजनिक(निजी साझेदारी० मोडलमा ‘काठमाडौं(कुलेखानी(भीमफेदी(हेटौंडा सुरुङमार्ग’ निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएपछि ४५ मिनेटमै काठमाडौं(हेटौंडा आवतजावत गर्न सकिने र हरेक वर्ष करिब १५ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ बचत हुने विश्वास गरिएको छ ।
हेटौंडाबाट नारायणघाट-मुग्लिङ हुँदै काठमाडौंसम्मको यात्रा गर्न भने २२० किलोमिटरको दूरी तय गर्नुपर्छ ।
टोखा-छहरे सुरुङमार्ग
काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित टोखा-नुवाकोट सुरुङमार्ग बन्ने सम्झौता भइसकेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा सो आयोजनालाई समेटेपछि अब यो परियोजनाको काम द्रूत गतिमा अगाडि बढ्ने अपेक्षा छ ।
सडक विभाग उपआयोजना निर्देशक पन्थीका अनुसार टोखा-छहरे सुरुङमार्ग परियोजनाको ढाँचामा बन्ने तयारीमा छ ।
‘यो भनेको आयोजनाको सम्भाव्यता अध्ययनदेखि ठेक्कासमेत आफै गरेर हस्तान्तरण मात्रै गर्ने ढाँचा हो । नेपालसँग सुरुङमार्गको अनुभव नभएका कारण पनि चीन आफैले सुरुङ तयार गरेर हामीलाई निर्माण सम्पन्न गरेपछि हस्तान्तरणमात्रै गर्ने हुनसक्छ,’ उनले भने ।
यसअघि जापानी सहुलियत ऋणमा बनेको नागढुङ्गा सुरुङमार्ग पनि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले यही ढाँचामा तयार गरेको थियो । कतिपय विदेशी अनुदानमा बन्ने आयोजनाका लागि दातृ राष्ट्रले नेपाललाई नै बजेट दिएर परियोजना अघि बढाउने शैली पनि अपनाउने गर्छन् ।
नेपालले आगामी वर्षको बजेटमा यो आयोजना समेट्ने तयारी गरिरहेका कारण केही महिनाभित्रै यसको काम सुरु हुने ठानिएको निर्देशक पन्थीले बताए।
तर अब चिनियाँ लगानीमा बन्ने भएपछि उक्त सुरुङमार्गको लगानीबारे नेपालले धेरै अध्ययनहरू नगरेको बताइएको छ ।
सुरुङमार्गको निर्माणपछि अढाई घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिनेछ ।
यस्तै, पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने, सिन्धुलीमा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोट, दोलखाको लामाबगर, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा-बागलुङ खण्डको हेम्जामा सुरुङमार्ग निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन भइसकेको छ ।
दाउन्ने, खुर्कोट र लामाबगरमा सुरुङमार्ग निर्माण गर्न सम्भव पनि देखिएको छ । इटेको-होमल्याण्ड(नर्थ स्टार भन्ने कम्पनीले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्याण्ड(नर्थ स्टारबीच सम्झौता भएको थियो।
सूर्यविनायक-धुलिखेल सुरुङमार्ग
सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा एक वर्षअघि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार भएको छ । अध्ययनले यो सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ ।
पलाँसेदेखि धुलिखेलसम्म करिब डेढ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ‘जाइका’ ले एक वर्षअघि नै सम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। यो सुरुङको निर्माण गर्ने कि नगर्ने भनेर सरकारले निर्णय लिइसकेको छैन । त्यसैले यसको बाँकी काम अगाडि बढ्न सकेको छैन ।
थानकोट-चित्लाङ सुरुङमार्ग
काठमाडौँको थानकोटदेखि मकवानपुरको चित्लाङसम्म सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन कार्य सुरु भइसकेको छ । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो सुरुङमार्गको अध्ययन भइरहेको हो । सेती राजमार्गअन्तर्गतको खुटिया-दिपायल, सिन्धुलीको चियाबारी, गोदावरी कुण्ड-मानेचौरमा समेत सुरुङ निर्माणका लागि सडक विभागले पूर्व सम्भाव्यता अध्ययन कार्य अगाडि बढाएको छ ।
नेपालमा सुरुङको सबैभन्दा बढी प्रयोग जलविद्युत आयोजना निर्माण गर्नका लागि भइरहेको छ । निर्माणाधीन १०४ वटा परियोजनामध्ये ४० वटामा सुरुङ निर्माण भइरहेको नेपाल टनेलिङ एसोसिएसनका महासचिव डा. छत्र बस्नेतले जानकारी दिए ।
नेपालमा पहिलो हाइड्रो सुरुङ रुपन्देहीको तिनाउमा बनेको थियो । तिनाउ जलविद्युत आयोजनाका लागि सन् १९७४ मा यो सुरुङ खनिएको थियो । त्यसपछि नेपालमा दर्जनौं जलविद्युत आयोजनामा सुरुङहरू खनिए ।
नेपालमा पहिलोपटक पाल्पामा मानिसद्वारा नै सुरुङ खनिएको विश्वास गरिन्छ । पाल्पाको अर्गलीमा सिँचाइ आयोजनाका लागि सुरुङ खनिएको थियो । १.५ किलोमिटर लामो यो सुरुङ ४ सय वर्ष पुरानो हो । राणाकालमा पाल्पाको तानसेनमा सिँचाइका लागि प्रतापशमशेरले खनाएको मानिने चण्डी भन्ज्याङमा करिब २ किलोमिटर सुरुङ पनि अझै भग्नावशेषका रूपमा रहेको छ ।
नेपालको पहिलो सुरुङमार्ग (रोड टनेल) भने हेटौंडा(पथलैया सडक खण्डको चुरियामाईमा खनिएको थियो । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको प्रमाणहरू छन् । हाल प्रयोगमा नरहेको यो सुरुङमार्ग डिल्लीजंग थापाले डिजाइन गरेका थिए । अझै पनि संरक्षित अवस्थामा रहेको सुरुङमार्ग २३९ मिटर लामो छ ।
यो सुरुङमार्गलाई एसियाकै पहिलो भनेर पनि दावी गरिन्छ । चुरिया सुरुङको उचाइ ५ मिटर छ भने चौडाइ ५ मिटर छ । यो सुरुङमार्ग भएर लामो समयसम्म मकवानपुरको भीमफेदीसम्म गाडी आवात-जावत हुन्थे ।
नेपालमा ढलका लागि पनि सुरुङको प्रयोग भएको छ । काठमाडौंमा तिलगंगा-ताम्रगंगा (गुहेश्वरी) खण्डमा ढलका लागि सुरुङ खनिएको छ, जुन ५२२ मिटर लामो छ । प्राकृतिक खनिजजन्य पदार्थका खानीका लागि पनि सुरुङहरू खनिएका छन्, केही परम्परागत खानीहरूमा यसको प्रयोग भएको थियो । तर, त्यसमध्ये गणेश हिमाल आसपासको क्षत्रेमा खनिएको करिब २ किलोमिटरको सुरुङ अहिलेसम्मको लामो मानिन्छ ।
नेपालमा जम्मा ६२० किलोमिटर सुरुङ बन्ने क्रममा छ । जसमा हाइड्रोपावर सुरुङ २७२ किलोमिटर, खानेपानी वितरण सुरुङ १५ किलोमिटर, सिँचाइ सुरुङ ७० किलोमिटर, सडक सुरुङ १०० किलोमिटर, रेल सुरुङमार्ग १५० किलोमिटर, खानी सुरुङ २० किलोमिटर, सबउर्वन मेट्रो सुरुङ ४० किलोमिटर नयाँ बन्ने लक्ष्य लिइएको छ। यसमा म्युजियम सुरुङ भने राखिएको छैन ।
खर्चिलो कि महँगो ?
नेपालमा जलविद्युत आयोजना सुरुङमार्ग निर्माण गर्न त्यति खर्चिलो छैन । सुरुङमार्ग निर्माण गर्दा कति आकार र कति लम्बाइको निर्माण गर्ने विषयले निर्माणले निर्धारण गर्ने गर्दछ । नेपालमा प्रायजसोस् साना खालका ५ देखि ७ मिटर चौडाइ भएको सुरुङ खन्ने गरिन्छ । सुरुङ खन्ने क्रममा जति कडा चट्टान भेटिन्छ । त्यति नै सुरुङ खन्न लागत सस्तो पर्ने गर्दछ । सामान्यतया कडा चट्टान भएको ठाउँमा ४र५ मिटर लम्बाइ खन्न ३ लाख रुपैयाँ लाग्ने गर्दछ। त्यस्तै, नरम चट्टानमा भएको ठाउँमा सोही आकारको १ मिटर लम्बाइको सुरुङ खन्नका लागि १० लाख रुपैयाँ सम्म लाग्ने गर्दछ।
यस्ता छन् चुनौती
नेपाल टनेलिङ एशोसिएशनका महासचिव बस्नेत नेपाल सुरुङहरूको प्रयोग गर्नमा त्यति समस्या नभएको बताउँछन् । उनका अनुसार जमिनबाट जति मुनि गइन्छ, त्यति नै भूकम्पीय असर र त्यसको जोखिम कम भएको बताउँछन् ।
यसलाई पहिलो प्राथमिकता दिनुपर्ने र महँगो भन्दै सुरुङ प्रविधिमा जान अल्मलिए विकासको गतिमा नेपालले फड्को मार्न नसक्ने उनको भनाइ छ ।
यस्तै, सुरुङ खन्ने प्रविधिमा भएको विकासलाई नेपालले आत्मसात गर्नुपर्नेमा जोड दिन पनि उनको आग्रह छ ।
राजनीतिक अस्थिरता र आवश्यक पुँजीको अभावमा देशमा आधुनिक सुरुङ प्रविधिलाई आत्मसाथ गर्न नसकेको महासचिव बस्नेतको भनाइ छ ।
सुरुङको सम्भाव्यता
महासचिव बस्नेतका अनुसार सुरुङ नेपालका लागि निकै महत्त्वपूर्ण छ । उनले भने, ‘हाम्रो जस्तो पहाडै(पहाड भएको देशमा सुरुङको विकल्प छैन । यसले नेपाललाई सुरुङ युगमा प्रवेश गराउनेछ ।
जुन सुरुङले नेपालको भूगोल हिमाल, पहाड र तराईलाई एकै ठाउँँमा जोड्नुका साथै भौगोलिक विकटता हटाउनेछ । ठूला(ठूला सुरुङ निर्माण गरी पानी स्टोर गर्न सकिने छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सुरुङ लामो समयसम्म टिकाउ रहने बताए । ‘सुरुङमार्ग एकचोटि बनाएपछि बारम्बार बनाइरहनुपर्दैन, सुरुङ निर्माणको लागत कम भए पनि यसको जोखिम कम छ । सरकारले सुरुङ निर्माणका लागि जोड दिनुपर्छ, ‘ उनले भने ।
नेपालजस्तो देशमा सुरुङ निर्माण हुनु आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस