काभ्रेमा अनेरास्ववियुको समानान्तर कमिटि गठनः ओली पक्ष र विद्या भण्डारी पक्ष विभाजित

काठमाडौं । आन्तरिक रुपमा बोल्न र विद्रोह गर्न बन्देश लगाएर एक छ भनिएको सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भित्री रुपमा भने निक्कै जर्जर बन्न थालेको छ । उकुशमुकुश भएका नेता कार्यकर्ताहरु विद्रोह गर्न थालेका छन् भने आलोचना गर्ने नेता कार्याकर्तालाई पार्टीले निश्काशन सम्मको कारबाही गर्न थालेको छ । 

आज मात्रै एमालेबाट भीम रावल निष्काशनमा परेका छन् भने अध्यक्ष ओलीको आलोचना गर्ने नेताहरु बिन्दा पाण्डे र उषकिरण लिम्सिना ६ महिनाका लागि निलम्बनमा परेका छन् । 

उता भित्रभित्रै एमालेका केपी ओली पक्ष र पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी पक्षका बीचमा देखिनेगरी संघर्ष सुरु भएको छ । त्यसको पछिल्लो उदाहरण हो । काभ्रे जिल्लाको अनेरास्ववियुको समानान्तर कमिटि गठनको विषय । 

काभ्रेमा अध्यक्ष ओली पक्षीय नेताको एउटा, गोकुल बास्कोटा पक्षको अर्को अनेरास्ववियु गठन भएको छ । बास्कोटा अचेल ओलीभन्दा विद्याभण्डारी नजिक रहेको एमालेकै नेताहरु बताउँछन् । 

३० मंसिरमा ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेलको गुट नरहेको, पार्टीभित्र कसैको गुट नरहेको र गुटबन्दी स्वीकार्य पनि नहुने बताएका थिए ।  तर, त्यसको ७ दिनपछि काभ्रेमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा समानान्तर कमिटी निर्माण भए ।  

अनेरास्ववियुको काभ्रे जिल्लाको ३१औँ जिल्ला अधिवेशनमा समानान्तर कमिटी निर्माण भएका हुन् । 

अधिवेशनबाट छुट्टाछुट्टै घोषणा भएका दुईवटा जिल्ला कमिटी एउटा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट हो भने अर्को कमिटी पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटानिकटको हो । 

६ गते सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी घोषणा गरेका छन् । अध्यक्ष ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय कमिटी घोषणा गरेको छ । 

उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुङ्गाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सञ्जीव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने छन् । 

बाँस्कोटा पक्षले दीपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुङ्गाना रहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाको गृहजिल्लामा विद्यार्थीमा समानान्तर कमिटी संस्थापन पक्षका विरुद्ध विद्रोहको रूपमा लिइएको छ ।

अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्लासमेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापनपक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बहुमत स्थायी कमिटी सदस्य भने निराजनको कमिटीको पक्षमा रहेको अखिल नेताहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर