गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंक
काठमाडौं । ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैले सकार्नुपर्छ । पछिल्लो समय दैनिक पत्रपत्रिका धितो लिलामीका सूचनाले भरिभराउ छन् । तर, बिक्रीमा राखेको धितो सहजै बिक्री हुन छाडेपछि बैंकरहरूमा यस्तो गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म बैंकहरूमा ३२ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत वर्षको कात्तिकको तुलनामा बैंकहरूको गैरबैंकिङ सम्पत्ति ७७.४९ प्रतिशत अर्थात् १४ अर्ब ११ करोड रुपैयाँ बढेको हो । गत वर्षको कात्तिकमा १८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति प्रणालीमा थियो ।
लिलामीमा राखेको धितो बिक्री नभएर आफै सकार्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको बैंकरहरू बताउँछन् । धितो लिलामी नहुँदा बैंकहरूले आफै सकार्नुपर्ने बाध्यता छ । बैंकहरू कोरबैंकिङभन्दा पनि गैरबैंकिङ कारोबारमा केन्द्रित भएका देखिन्छन् ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार एभरेष्ट बैंकको गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । कात्तिकसम्म एभरेष्ट बैंकको गैर-बैंकिङ सम्पत्ति ७५३.३३ प्रतिशत बढेर ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको कात्तिकमा यस बैंकको गैर-बैंकिङ सम्पत्ति ५ करोड ९९ लाख रुपैयाँ मात्रै थियो ।
यस्तै, नेपाल एसबीआई बैंकको ४३५.८२ प्रतिशत बढेर ३५ करोड ३९ लाख रुपैयाँ, कृषि विकास बैंकको ४२४।९२ प्रतिशत बढेर ९८ करोड ३३ लाख रुपैयाँ, हिमालयन बैंकको ३३९.२० प्रतिशत बढेर ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।
सानिमा बैंकको ३०८.५६ प्रतिशत बढेर ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १९५.८३ प्रतिशत बढेर ८० करोड ९९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७९.३२ प्रतिशत बढेर ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, प्रभु बैंकको १०६.१८ प्रतिशत बढेर १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ ।
कुमारी बैंकको ७७.१० प्रतिशत बढेर २ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५.५० प्रतिशत बढेर ३ अर्ब ३ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ५०.७० प्रतिशत बढेर २९ करोड ७६ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।
एनएमबी बैंकको ४७.११ प्रतिशत बढेर १ अर्ब २ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको ४५.०५ प्रतिशत बढेर २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३०.२५ प्रतिशत बढेर १ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २५.९० प्रतिशत बढेर १ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।
राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकको १९.२० प्रतिशत बढेर ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकको १०.७८ प्रतिशत बढेर ७० करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको १०.०५ प्रतिशत बढेर २० करोड ४१ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।
तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बैंकिङ सम्पत्ति रहेको छ भने प्राइम बैंकको ५.७४ प्रतिशत घटेर १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) अध्यक्ष उपेन्द्र पौडेल गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धिले चुनौती थपेको बताउँछन् । खराब ऋण र बैंकहरूको गैर बैंकिङ सम्पत्ति हरेक वर्ष थुप्रिँदा प्रतिकूलता बढ्ने भएकाले दीर्घकालीनरूपमा समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
‘बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी, गतिशील, सुशासित एवं जिम्मेवार क्षेत्र हो । विगतका कठिन परिस्थितिलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको छ । तर, कतिपय बाध्यतावश र पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंकहरूको निष्क्रिय तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताउँछन् । तर, कसरी सञ्चालन गर्ने भन्ने विषयमा कुनै प्रक्रिया अघि नबढेको उनको भनाइ छ । विगतको तुलनामा कर्जा डिफल्ट बढेकाले गैर बैंकिङ सम्पत्तिमा समेत वृद्धि भएको उनले बताए ।
‘कर्जा डिफल्ट हुँदा समग्र आर्थिक प्रणालीमा नै प्रभाव पर्छ, कुनै समस्या काबु बाहिरका पनि हुन्छन्, ती समस्याले बैंकिङ क्षेत्रमा पनि दबाब पार्न सक्छ,’ प्रवक्ता पोखरेलले भने, ‘केन्द्रीय बैंकले यस्तो सम्पत्ति बढ्नुलाई राम्रो मान्दैन । यसलाई तत्काल घटाउन पनि मिल्दैन किनभने अर्थतन्त्र नै सुस्ताएको हुन्छ । अर्थतन्त्र सुधारमा आएपछि आफै सुधार हुन्छन् ।’
प्रतिकृया दिनुहोस