समयमा उपचार हुन नसक्दा आमा र शिशु दुवैको बाटोमै मृत्यु

धनगढी । बझाङको केदारस्युँ गाउँपालिकामा सुरक्षित प्रसूतिका लागि अस्पताल लैजाने क्रममा बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको मृत्यु भएको छ ।

केदारस्युँ गाउँपालिका– १ डुडिलकी २१ वर्षीया खिना बोहराको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो ।

आइतबार रातिबाट सुत्केरी बेथाले च्यापेपछि खिनालाई आफन्तले सोमबार बिहान स्थानीय रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा लैजान खोजेका थिए ।

अस्पताल नपुर्‍याउँदै उनले भट्टे भन्ने ठाउँमा बाटोमै बच्चा जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएर खिनाले बाटोमै ज्यान गुमाएको रायल प्राथमिक स्वास्थ्यचौकीका अहेव कमलकुमार मल्लले बताए । बिहानको कठ्यांग्रिने चिसोमा सुत्केरी र नवजात शिशुले न्यानो नपाएको उनले बताए ।

अहेव मल्लका अनुसार खिनाले नियमित गर्भचाँज गराउने गरेकी थिइन् । चिकित्सकले बच्चा जन्माउने डेट २६ माघमा दिएका थिए । उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

महिलाको घरबाट स्वास्थ्यचौकी करिब सात किलोमिटरको दूरीमा रहेको उनले बताए । खिनाका श्रीमान् उमेश रोजगारीका लागि भारत छन् । घरमा सासू–ससुरा र दुईजना नन्द छन् ।  

सुत्केरी बेथाले च्यापेपछि आफन्तले उनलाई बिहानै अस्पताल लगेका थिए । उनले बिहान करिब ५ बजेतिर बच्चालाई जन्म दिएकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर