६ महिनामा बजेट घाटा डेढ खर्ब माथि, पुँजीगत खर्च १४.३५ प्रतिशत मात्रै

काठमाडौं । सरकारको बजेट घाटा डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा सरकारको बजेट घाटा १ खर्ब ५१ अर्ब २० करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार (पुस २२ गते) सम्म आइपुग्दा सरकारको कुल आम्दानी ४ खर्ब ६९ अर्ब १२ करोड ३२ लाख रुपैयाँ छ । तर, खर्च भने ६ खर्ब २० अर्ब ३३ करोड ८ लाख रुपैयाँ पुगेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च बढी भएकाले बजेट घाटा डेढ खर्ब पुगेको हो ।

कार्यालयका अनुसार सो अवधिमा सरकारले लक्ष्यको ३१.८८ प्रतिशत मात्रै आम्दानी गरेको हो । चालु आवमा सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ हजार रुपैयाँको लक्ष्य छ । झन्डै ६ महिनामा सरकारले राजश्व भने ३२ प्रतिशत उठाउन सफल भएको छ । यो वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ । तर, झन्डै ६ महिनामा भने ४ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ उठाएको छ ।

यस्तै, सरकारले कर मार्फत ४ खर्ब १५ अर्ब ३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो लक्ष्यको ३२.३२ प्रतिशत हुन आउँछ । यस्तै, गैर राजश्व २८.९९ प्रतिशत, अनुदान १३.८२ प्रतिशत आम्दानी गरेको छ ।

यता, सरकारको खर्च भने लक्ष्यको ३१.८८ प्रतिशत पुगेको छ । चालु आवका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबारसम्म आइपुग्दा भने सरकारले ६ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ खर्चिएको छ ।

कार्यालयका अनुसार विकास खर्च अर्थात् पुँजीगत खर्च भने १४.३५ प्रतिशत भएको देखिन्छ । झन्डै ६ महिनामा यस्तो खर्च ५० अर्ब ५५ करोड ३९ लाख रुपैयाँ मात्रै छ । यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ ।

यता, चालु खर्च भने ११ खर्ब ४० अर्ब ६६ करोड गर्ने लक्ष्य लिएको छ । हाल यस्तो खर्च लक्ष्यको ३३.३ प्रतिशत अर्थात् ४ खर्ब १४ अर्ब ७ करोड रुपैयाँ मात्रै भएको छ ।

यस्तै, वित्तीय खर्च भने ४२.३९ प्रतिशत पुगेको छ । झन्डै ६ महिनामा सरकारको यस्तो खर्च १ खर्ब ५५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । चालु आवका लागि सरकारको वित्तीय खर्च ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर