निरासाजनक अर्थतन्त्र: ६ महिनामा सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आधा वर्ष सकिँदा सरकारको आम्दानी र खर्चबीच झन्डै १ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च गरेको छ । यसबीच सरकारको आम्दानी भने ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाखमात्र छ ।

यसरी सरकारको खर्च र आम्दानीबीच ९२ अर्ब ८३ करोड बराबर खाडल देखिन्छ । कार्यालयका अनुसार ६ महिनामा सरकारले चालु खर्चमा ४ खर्ब ५२ अर्ब खर्च गरेको छ । जुन लक्ष्यको ३९.६३ प्रतिशतमात्र हो ।

यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब चालु खर्च लक्ष्य राखेको छ । ६ महिनामा पूँजीगत प्रकृतिको खर्च भने ५६ अर्ब ९३ करोडमात्र छ । यो लक्ष्यको १६.१६ प्रतिशत हो ।

यस वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च लक्ष्य छ । वित्तीय व्यवस्थातर्फ सरकारले १ खर्ब ५८ अर्ब ६६ करोड खर्च गरिसकेको छ । जुन लक्ष्यको ४३.१ प्रतिशत हो ।

उता, राजस्व संकलन भने ५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी भएको छ । यो कुल लक्ष्यको ३९.४३ प्रतिशतमात्र हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकारले कर राजस्वतर्फ ४ खर्ब ८९ अर्ब संकलन गर्न सकेको छ । गैरकर राजस्व ७० अर्ब २० करोड उठेको छ । यसबीच अनुदान प्राप्ति भने ७ अर्ब ३७ करोड बराबर भएको छ । अन्य प्राप्ति ७ अर्ब ७८ करोड हुँदा सरकारको कुल आम्दानी ५ खर्ब ५९ अर्ब हाराहारी भएको महालेखाको तथ्यांक छ ।

सरकारले पहिलो ६ महिनामा पूँजीगत खर्चमा भने पुनः निराशाजनक प्रदर्शन गरेको छ । राजस्व संकलन लक्ष्य अनुसार नभए पनि गत आवको यसै अवधिको तुलनामा सुधार भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर