विकास बैंकको नाफा: ज्योति र सांग्रिलाको नाफामा चामत्कारिक बृद्धी
काठमाडौं । वाणिज्य बैंकहरुको नाफा घटेको बेला राष्ट्रिय स्तारका विकास बैंकहरुले भने दोहोरो अंकले बढाएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरुको नाफा १६ प्रतिशत वृद्धि भएको छ । तर, वाणिज्य बैंकहरुको नाफामा साढे ४ प्रतिशत गिरावट आएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६.०२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले २ अर्ब २३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
नाफा वृद्धिदरमा ज्योति विकास बैंकले छलाङ मारेको छ । बैंकको नाफा १४७.५७ प्रतिशत वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा ज्योतिले १० करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा भने २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यता, सांग्रिला डेभलपमेन्ट बैंक पनि नाफा बढाउन तगडा देखिएको छ । बैंकको नाफा ९६.१० प्रतिशत वृद्धि भई १९ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा भने गारिमा बैंक छ । बैंकले ६ महिनामै ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ७.१६ प्रतिशत छ ।
यसअघि प्रायः पहिलो नम्बर हुने मुक्तिनाथ विकास बैंक यसपालि भने दोस्रो सूचीमा पुगेको छ । ६ महिनामा मुक्तिनाथले ५० करोड ३१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा २७.०९ प्रतिशत धेरै हो ।
गत आवको तुलनामा शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको नाफामा भने क्रमशः १०.८७ प्रतिशत र ३०.४६ प्रतिशत गिरावट देखिएको छ । समिक्षा अवधिमा शाइनले ३३ करोड ८ लाख रुपैयाँ र लुम्बिनीले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समिक्षा अवधिमा कामना सेवा विकास बैंकको नाफा पनि २४.५५ प्रतिशत वृद्धि भई ३२ करोड २४ लाख कायम भएको छ । यता, महालक्ष्मी विकास बैंकले पनि ३.४० प्रतिशत बढाएर २८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
कसले कति कमाए नाफा ? रकम हजारमा
प्रतिकृया दिनुहोस