लेखा समितिमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की: माओवादी भन्याे सभापतिले राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ ।

लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकको सुरुमै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न सुझाव दिए । 'सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु,' दाहालले भने, 'लेखा समिति सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने अभ्यास छ । तपाईं सभापति बनिसकेपछि केही विषयवस्तु बाहिर आए । उहाँको स्वकीय सचिवमार्फत भएका विषयवस्तु पनि बाहिर आएका छन् ।'

सार्वजनिक लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको पनि दाहालको भनाइ थियो । पोखरेल एमालेका सांसद हुन् । ९५ उजुरी समितिमा थन्किएको अवस्थामा सभापतिले छलफलमा नल्याएको पनि दाहालको भनाइ थियो । 'सरकारले गरेका कुकर्म र दुष्कर्मको पक्षपोषण गर्ने, उजुरी रोक्ने, छोप्ने उद्देश्य तथा बदलनियत जोडिएका छन् कि भन्ने लागेको छ,' सभापति नछोड्नुको पछाडि यस्तो उद्देश्य रहेको हो कि भन्ने आशंका रहेको उनले बताए ।

सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छायाँ बनाइएको पनि दाहालले बताए ।
लेखा समितिमा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसदबीच मंगलबारको बैठकमा चर्काचर्की भएको छ ।

लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा यसको पहिचान कायम हुन नसकेको भन्दै माओवादी सांसदले मार्गप्रशस्त गर्न सभापति ऋषिकेश पोखरेललाई आग्रह गरे । उनीहरूले समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीयसचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे ।

तर, एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भनेपछि बैठकमै चर्काचर्की भएको हो । “अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने । सधैँ सभापतिलाई पेलेको छ । एजेन्डामा बहस हुँदैन,” लामाले भने, “सधैँ यो बोल्ने भए, अबदेखि बोले राम्रो हुँदैन ।”

लामाले चेतावनीसहित बोलेपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्काल प्रतिवाद गरे । उनले असंसदीय भाषा समितिमा प्रयोग नगर्न चेतावनी दिँदै त्यसलाई रेकर्डबाट हटाउन सभापतिसँग माग गरे ।

“के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्ने भनेको हो ?,” दाहालले भने, “यो असंसदीय भाषा भयो, रेकर्डबाट हटाउनुहोस् ?”

उनले त्यस्तो माग गरेपछि भने लामा आफ्नो बचाउमा लागेका थिए । “रेकर्डबाट किन हटाउने ? बोल्छु त !,” उनले भने, “मैले कसैलाई इंगित गरेको छ र ? आफैँ अनेक काम गरेर आउने !”

लामाले आफूले इंगित नगरेको भनेर बचाउ गरे पनि एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरे । “के असंसदीय भयो ?,” योगेशले प्रश्न गरे ।

त्यसपछि दाहालले भने, “समितिमा बोलिएको भाषा असंसदीय भयो, हटाउनुपर्छ ।”

योगेशको आड पाएपछि भने लामाले धम्कीको भाषा प्रयोग गरे । “भाइरल हुन बोल्ने ? ल जाऊँ प्रचण्डजीकोमा डेलिगेसन, म आफैँ जान्छु,” दाहाललाई धम्क्याउँदै लामाले भने, “हिजो आफैँ बनाएको, आज प्रश्न उठाउने ? एजेन्डामा बहस छैन, करा’को छ, सभापतिलाई प्रश्न उठाएको छ ।”

त्यसपछि माओवादी सांसद अमनलाल मोदीले समितिमा बोल्दा धम्की दिने नभई संसदीय भाषाको प्रयोग गर्न एमाले सांसदलाई सुझाव दिए । उनले तत्कालीन अवस्था उल्लेख गरे । “समिति बाँडफाँडमा लेखा समिति एमालेलाई नै किन दिइयो ? प्रतिपक्षमा भएकाले दिइयो,” मोदीले भने, “संसद्‌मा कुरा राख्न पाउँछ, बहुमत छ भनेर कुस्ती खेल्न आउने ? लेखा समितिमा असंसदीय बोल्दा हो हो भनेर धम्की दिने ?”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर