एलिना चाैहानले पति विष्णुसँग सम्बन्ध विच्छेद गर्ने तर अंश नखाेज्ने
काठमाडौं । पति विष्णु सापकाेटासँग सम्बन्ध विच्छेदकाे मुद्दा दर्ता गरेकी गायिका एलिना चाैहानले अंश भने नलिने बताएकी छन् । उनीहरूबीच गएको वैशाख ५ गते झापा, बिर्तामोडमा तामझामका साथ विवाह भएकाे थियाे ।
उनका पति विष्णु सापकोटा हाल अष्ट्रेलिया बस्दछन् भने चाैहान काठमाडाैंमा बस्दै छिन् । बाग्लुङका सापकोटाकाे अष्ट्रेलियामा व्यवसाय छ । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसे ।
तर, यो सम्बन्ध त्यति सुमधुर रहेन । उनीहरूबीच खटपट भएको गाइँगुँइ खबर चलिरहेकै बेला गायिका ज्योति मगरले फेसबुकमा यस्तो स्टाटस राखिन्, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँशु झारिन् । पब्लिक फिगरको त यस्तो दुर्दशा छ आम महिलाको हालत के होला ?’ धेरैले यो स्टाटस एलिना चौहानलक्षित भएको अनुमान गरेका थिए ।
धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो ।
पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् । कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।
उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् । ‘निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।
एलिनाले के लेखेकी छन्:
‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।’
प्रतिकृया दिनुहोस