‘सरस्वतीले यौन सम्बन्ध राख्न अस्विकार गर्दा हत्या’
अछाम । अछामको ढकारी गाउँपालिका–८ घोडासैनका दुई किशारीको हत्या भएको प्रहरीले बताएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सो कुरा पुष्टि गरेको हो । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा हत्या भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
उनका अनुसार इशरा र सरस्वतीको ती किशोरहरूसँग दुई दिनअगाडिबाट छिन्ने जंगलमा भेट्ने योजना बनेको थियो । करिब एक वर्षदेखि उनीहरूको निरन्तर फोन सम्पर्क र भेटघाट भइरहेको पनि प्रहरीको दाबी छ । सोही योजना अनुसार इशरा र सरस्वतीको गाउँमा माघी तिहार पुर्याउन आएका ती दुई किशोरहरू बाख्रा चराउन गएकी प्रेमिकालाई भेट्न जंगल गएका थिए ।
‘हत्या गर्ने दुई किशोरसँग सरस्वती र इशराको प्रेम सम्बन्ध रहेको खुलेको छ । ती किशोरहरू इशरा र सरस्वतीभन्दा अगाडि बिहान १० बजे नै जंगलमा आएर बसिसकेका थिए,’ डीएसपी भण्डारीले भने, ‘मृतकहरू भने त्यो ठाउँमा बाख्रा चराउन दिउँसो १२ बजे मात्रै पुगेको देखिन्छ । ती किशोरीहरूलाई किशोरहरूले खोला किनारमा कुरेर बसेका रहेछन् ।’
डीएसपी भण्डारीका अनुसार हत्या गर्ने १५ वर्षीया किशोरको मोबाइलमा मृतक सरस्वतीको मोबाइलबाट सेयरइटमार्फत गीत, भिडियो सेयर गरी चारै जना ठूलो ढुंगोमा बसेर कुराकानी गरिरहेका थिए ।
कुराकानीका क्रममा एकाअर्कासँग प्रेममा भएकाले मायाको चिनोस्वरूप दोपट्टा ती किशोरहरूले मागिरहेका थिए । इशराले प्रेमीलाई दोपट्टा दिन तयार भए पनि सरस्वतीले भने दिन मानिनन् । सरस्वतीले दोपट्टा नदिएपछि उनको हातमा रहेको इअरफोन ती किशोरले खोसेर लैजान खोजे । तर इशराले सरस्वतीको साथमा रहेको इअरफोन आफ्नो दाइको भन्दै खोसेर लगिन् ।
यौन प्रस्ताव अस्विकार गर्दा सरस्वतीको हत्या
बाख्रा फर्काउन तलतिर गएकी सरस्वतीको नजिक गएर ती किशोरले शारीरिक सम्बन्ध राख्नका लागि आग्रह गरेको खुलेको छ । ‘सरस्वतीले विवाह गर्ने भएमात्र शारीरिक सम्पर्क राख्न दिने अडान लिएको देखियो । ती किशोरले आफ्नो उमेर कम भएको र ५/६ वर्षपछि बिहे गर्ने सर्तमा शारीरिक सम्पर्क राख्न आग्रह गर्छन्,’ डीएसपी भण्डारीले ती किशोरको बयानलाई उद्धृत गर्दै भने, ‘सरस्वतीले शारीरिक सम्बन्ध राख्ने कुरालाई अस्विकार गरेर खोलातर्फ लागिन् । यही झोकमा नजिकै रहेको ढुंगा समातेर सरस्वतीको टाउकोमा प्रहार गर्दा सोही ठाउँमा ढलेर उनको मृत्यु भएको हो ।’
ढुंगा लागेर सरस्वतीको मृत्यु भएपछि ती किशोरले घटनालाई कृत्रिम बनाउन ढुंगा खसाएको उनले बताए । उनका अनुसार हातले ढुंगा नआएपछि अडेस लागेर ढुंगा सरस्वतीको शव भएको ठाउँमा पछि लडाइएको हो । ‘ढुंगाले हानेको पहिलो प्रहारमा सरस्वतीको मृत्यु भयो । तर यो कुरा इशरा र अर्को किशोरलाई त्यतिबेलासम्म थाहा भएको देखिँदैन,’ डीएसपी भण्डारीले भने, ‘अरू दुई जनाले थाहा पाउँदासम्म सरस्वतीको हत्या गर्ने युवकले ढुंगा खसेर मरेको जस्तो बनाउनलाई माथिबाट ढुंगा खसाउन सुरु गरिसकेको थियो ।’ उनका अनुसार घटनास्थलमा माथिबाट ठूलठूला ढुंगा पनि खसेका छन् ।
प्रहरी प्रमुख भण्डारीका अनुसार ढुंगा खसेर सरस्वती लडेको भन्दै होहल्ला भएपछि इशरा सरस्वतीको मृत्यु भएको छेउमा पुगिन् । सरस्वतीको मृत्यु भएको देख्दा इशराले ती केटाहरूलाई ‘तिमीहरूले मारेको र यो कुरा सबैलाई भनिदिन्छु’ भन्दै रोइकराइ गर्न थालिन् ।
‘जे हुुुुनु भइहाल्यो । यो कुरा कसैलाई नभन्नु भन्दै इशरालाई ती दुवै केटाहरूले फकाउन थाले । तर इशराले कसैलाई नभन्ने कुरा अस्विकार गरिन् । रुँदै कराउँदै घरतर्फ जान खोजिन्,’ डीएसपी भण्डारीले बयान उद्धृत गर्दै भने, ‘इशरा घर जान थालेपछि सरस्वतीका प्रेमी भनिने ती युवकले हात समाती पछाडि धकेले र निधारमा लाग्ने गरी ढुंगाले हानेर लडाए । इशराका प्रेमी भनिने अर्का युवकले इशरा ढलेको अवस्थामा ढुंगाले अनुहारको भागमा हानेर मारेर घटनास्थल छोडेर भागेको देखिन्छ ।’
प्रहरी प्रमुख भण्डारीका अनुसार अहिलेसम्म घटनामा दुई किशोरले हत्या गरेको स्विकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान निरन्तर चलिरहेको र यो प्रारम्भिक जानकारी भएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका दुवै किशोरलाई जिल्ला अदालत अछामबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस