‘फिजिकल मनी’मा छैन अकर्षण, चुलियो डिजिटल भुक्तानी

काठमाडौँ । कोभीडपछि नेपालमा फस्टाएको डिजिटल भुक्तानीले अहिले राम्रै गति समातेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो ।

गएको पुस महिना भरीमा नेपालमा वालेटमार्फत् हुने कारोबारको संख्या (पटक) ३ करोड २२ लाख ६४ हजार नाघेको छ । त्यस्तै क्यूआरमा आधारित भुक्तानीको कारोबार पनि २ करोड ४५ लाख १७ हजार पटक भएको छ । द्रुत भुक्तानी माध्यम भनिएका अन्य प्रणालीबाट १ करोड ३४ लाख पटकभन्दा बढी कारोबार भएको छ ।

एक महिनामा भएको यो कारोबार संख्या केही वर्ष अघिसम्म हामीले कल्पना समेत गर्न सक्दैन थियौँ । राष्ट्र बैंकका अनुसार मोबाइल, वेव र गेटवेका सबै तरिकाले कनेक्ट आईपीएसबाट हुने भुक्तानी र फोनपे, इन्टाफण्ड तथा एससीटीका अन्तरबैंक फण्ड ट्रान्सफर प्रणालीहरुबाट हुने कारोबारलाई ‘द्रुत भुक्तानी माध्यम’ भनिएको छ ।

यस प्रकारको कारोबारमा मानिसहरुको आकर्षण सबैभन्दा उच्च गतिले बढेको देखिन्छ । गत सालको पुसको तुलनामा यो साल त्यस प्रकारका माध्यमबाट भएको भुक्तानी संख्या १४१ प्रतिशतभन्दा धेरैले बढेको छ । क्यूआरमा आधारित मासिक भुक्तानी पनि यो एक वर्षको अन्तरालमा करीब ९५ प्रतिशत बढेको केन्द्रिय बैंकको तथ्यांक छ ।

वालेटबाट आज पनि सर्वाधिक संख्यामा कारोबार हुने गरेको छ । यो पुसमा भएको कारोबार संख्या अघिल्लो सालको पुसभन्दा करीब ५१ प्रतिशत बढी हो । यस्तै ई–कमर्शको कारोबार ४८ प्रतिशत, मोबाइल बैंकिङबाट भएको कारोबार ४७ प्रतिशत, प्रिपेड कार्डबाट भएको कारोबार ४५ प्रतिशत र आईपीएसबाट भएको कारोबार ४४ प्रतिशत बढेका छन् ।

यो आँकडा कारोबार संख्याको हो । यदी कारोबार रकमको आधारमा हेर्ने हो भने पनि क्यूआरमा आधारित करोबारको बढोत्तरी उल्लेख्य मात्रामा देखिन्छ । थोक भुक्तानीको माध्यम आरटीजीएस र इलेक्ट्रोनिक चेक क्लियरेन्स ९ईसीसी०लाई छाड्ने हो भने गत पुसमा क्यूआरमा आधारित भुक्तानीमात्रै ७३ अर्ब २२ करोड ५० भएको छ । यो गत सालको पुस महिनाको तुलनामा करीब ९० प्रतिशत बढी हो ।

मोबाइल बैंकिङको उपयोग पनि ह्वात्तै बढेको देखिन्छ । यो पुसमा मोबाइल बैंकिङबाट हुने करोबार गत सालको तुलनामा ४१ प्रतिशत बढेर ३ खर्ब ९८ अर्ब ३८ करोड नाघेको छ । गत मंसिरको तुलनामा पनि यो रकम करीब १० अर्ब बढी हो ।

द्रुत भुक्तानी माध्यमबाट भएको कारोबार रकम चाहीँ गत मंसिरभन्दा त बढेको छ, तर पोहोर सालको तुलनामा घटेको देखिन्छ । यस्तो कारोबार गत सालभन्दा ९।६६ प्रतिशत घटेर ४ खर्ब ११ अर्ब हाराहारी पुगेको छ । कारोबारको फ्रिक्वेन्सी बढेको, तर रकम घटेको यो तथ्यांकले खुद्रा कारोबारको भुक्तानीमा पनि कनेक्ट आइपीएस र फोनपेजस्ता माध्यमको उपयोग बढेको देखाउँछ ।

यससँगै वालेटबाट हुने भुक्तानी पनि पोहोरको तुलनामा झण्डै ७६ प्रतिशत बढेर ४० अर्ब ५६ करोड पुगेको छ । गत सालको पुसमा जम्मा २३ अर्बको कारोबार वालेटहरुबाट भएको थियो । ई–कमर्शमा जम्मा १ अर्ब २५ करोडको कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । तयर यो आफैँमा पनि पोहोरको तुलनामा ७२ प्रतिशतभन्दा ज्यादाको सुधार हो ।

फिजिकल मनीमा घट्दो आकर्षण

हामीले यसै पनि अनुमान लगाउन सक्छौँ की, अहिले त न बैंकहरु केही वर्ष अघिजस्तो एडीएम बूथहरु थप्ने होडबाजीमा छन्, न त यस्ता एटीएम बुथहरुमा पहिलेजस्तो लामो लाइन लाग्ने गर्छ ।

शहरका अघिकतर एटीएम बुथहरु खालि–खालि नै भेटिन्छन् । मानिसहरु त्यस्ता मेसिनसम्म धाउनै चाहँदैनन् । यस परिदृष्टको प्रतिविम्ब पनि केन्द्रिय बैंकको तथ्यांकमा देखिन्छ । राष्ट्र बैंकका अनुसार गत पुसमा एटीएम बुथबाट नगद झिक्ने क्रम अघिल्लो सालभन्दा घटेको छ ।

गत सालको पुसमा १ करोड ४ लाख पल्ट एटीएमबाट पैसा निकालीएको थियो भने यो पुसमा १ करोड ३ लाख पटकमात्रै कारोबार भएको छ । पैसामै हेर्ने हो भने पनि यस्तो कारोबार रकम पोहोरको तुलनामा केवल साढे ३ प्रतिशतमात्रै बढेको छ ।

डेबिट कार्डबाट हुने भुक्तानी र पीओएस मेसिनबाट हुने भुक्तानी पनि तुलनात्मक रुपमा कम हुँदै गएको देखिन्छ । यो पुसमा डेबिट कार्डबाट भएको भुक्तानी संख्या ०.६७ प्रतिशत घट्यो भने पोइन्ट अफ सेल्स (पीओएस) बाट भएको भुक्तानी ०।६३ प्रतिशतमात्रै बढ्न सक्यो ।

यसले मानिसहरु विगतमा ‘नगद’ बोक्न छाडेर ‘प्लास्टिक मनी’ अर्थात् कार्डबाट भुक्तानी गर्ने गरेको देखिन्थ्यो । अब त्यो परिवेश पनि बदलिँदै डिजिटल भुक्तानीमा रुपान्तरण भएको देखिएको छ ।

अर्थतन्त्र चलायमान भएको हो ?

कारोबारको संख्या र रकममा देखिएको बढोत्तरीले अर्थतन्त्रको गति पहिलेभन्दा निकै रफ्तारमा चल्न थालेको देखाएको छ । हुन त यसले नगद कारोबारको तीव्रतालाई कुन हदसम्म प्रतिस्थापन गरेको छ भन्ने कुनै मानक हामीसँग छैन ।

विगतमा नगदको कारोबार नै तीव्र हुने गरेको थियो । अहिले त्यसमा डिजिटल भुक्तानीको माध्यमले ‘ओभर–टेक’ गर्न खोजिरहेको छ । वास्तवमा अहिले पनि राष्ट्र बैंक वा कुनै पनि निकायसँग कारोबारको वेगलाई मापन गर्ने सामथ्र्य छैन ।

यसले गर्दा डिजिटल कारोबारमा आएको बढोत्तरीले समग्र अर्थतन्त्रलाई ब्यापक चलायमान बनायो भन्न केही कठीन हुनसक्छ । तर जुन रफ्तारमा डिजिटल कारोबार बढेको छ, त्यसले कहीँ न कहीँ आन्तरिक बजारलाई चलायमान बनाएको र कारोबारको गतिशिलता बढेको संकेत गर्छ ।

यी आँकडाहरु अहिले तलाउमा जमेको पानीजस्तै स्थिर देखिएको अर्थतन्त्रको गतिशीलता अब बढ्दै छ भन्ने संकेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर