नेताको आलोचना गर्ने घोराही–८ का वडाध्यक्ष एमालेबाट निष्काशित
दाङ । नेकपा एमाले दाङले एक वडाध्यक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।
शाहले सार्वजनिकरुपमा र सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध अभिव्यक्ति दिने गरेको र पटकपटक सचेत गराउँदा पनि सुधार नभएपछि कारबाही गरेकाे जनाएकाे छ । शाह २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
आज (बुधबार) पार्टी कार्यालय घोराही भरतपुरमा बसेको जिल्ला कमिटी बैठकले एमालेबाट निर्वाचित घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गर्ने निर्णय गरेको जिल्ला प्रचार विभागका प्रमुख संगीत बस्यालले जानकारी दिए ।
तीन महिना पहिले सामाजिक सञ्जालमा पार्टीका नीति विपरित मनपरी लेखेको भन्दै जिल्ला पार्टीले वडाध्यक्ष शाहलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन तोकेता गरेको थियो । त्योभन्दा पहिले नै पार्टी त्यागेर आफू स्वतन्त्र भएको उनले घोषणा गरेका थिए ।
‘जिल्ला पार्टीले स्पष्टीकरण सोध्दा शाहले वास्ता गरेनन् र फोनमा पनि आफै मिलाएर लेख्नु भन्ने गैर जिम्मेवार जवाफ दिएका थिए,’ बस्यालले भने, ‘मलाई पार्टीले कारवाही गरे गरोस् म आफैलाई पार्टीमा बस्न मन छैन भन्ने किसिमको अनुशासन विपरित कुरा गर्दै आएको हुँदा निष्काशित गर्ने निर्णय पार्टीले गरेको छ ।’
वडाध्यक्ष शाहले यसअघि पनि वडामा विकासका लागि आवश्यक बजेट नदिएको भन्दै मेयर नरूलाल चौधरीको चर्को आलोचना गरेका थिए । त्यतिखेर उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस