आजदेखि ग्लोबल मनी विक २०२५ मनाउदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आजदेखि ‘ग्लोबल मनी विक २०२५’ मनाउने तयारी गरेको छ। आज बिहान आयोजित नेशनल इभेन्ट लन्चु नामक कार्यक्रमको उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रुपमा ‘ग्लोबल मनी विक २०२५’  को सुरुवात हुने जनाइएको छ। 

चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ।

यस वर्ष ‘थिङ्क बिफोर यु फलो, वाइज मनि टुमरो’ नाराका साथ नेपाल राष्ट्र बैंकले यो अभियान सञ्चालन गर्नेछ। विश्वव्यापी रूपमा वित्तीय चेतनामूलक अभियानका रूपमा स्थापित ग्लोबल मनी विक हालसम्म १७६ देशका छ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। नेपालमा पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो अभियानलाई अघि बढाइरहेको छ।

राष्ट्र बैंकका अनुसार, वित्तीय प्रणालीमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। साथै, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाहरूले समेत यस अभियानमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। बैंकले वित्तीय साक्षरतासम्बन्धी अभियानमा संलग्न संघसंस्थाहरुलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा वित्तीय साक्षरताको स्तर सुधार गर्न राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस अभियानले विशेषगरी बालबालिका र युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारको विकासमा सहयोग पुर्‍याउने राष्ट्र बैंकको विश्वास छ।

यसक्रममा राष्ट्र बैंकले वित्तीय संस्थाहरू, संघसंस्था तथा सरोकारवालाहरूलाई आफ्नो कार्यक्रम सार्वजनिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार, यस अभियानले भविष्यका लागि सशक्त वित्तीय निर्णय लिन युवाहरूलाई सशक्त बनाउनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर